काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । सांसदद्वय बस्नेत तथा श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्ष खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा बिहीबार अपहरण सम्बन्धी उजुरी परेको हो ।
उहाँहरुविरुद्ध जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले अपहरण गरेको भन्दै उजुरी दिनुभएको हो । उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्य भए, नभएको विषयमा अनुसन्धान गरिने बताउनुभयो । अपराध भए, नभएको, अपहरण भए, नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ की छैन ? भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताउनुभयो ।
‘उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उलंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ ?’ उहाँले भन्नुभयो, ‘ अपराध भयो, भएन्, अपहरण हो, होइन त्यो हेर्ने काम हाम्रो होइन् । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यर भए कि, भएनन् । ती कार्य भएको भए उजुरीकर्ताले भने जस्तै मानव अधिकार उल्लंघन भयो कि भएन् ? उल्लंघन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ, राज्यले के गर्नुपर्छ ? सरकारले के गर्नुपर्छ ? भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ ।’
डा. यादवले सदस्य वस्ती र माहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो । ‘शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदद्वय र पूर्व आइजीपीलाई पक्राउ गरी आवश्यक छानविन र कारबाही गर्नुपर्ने’ उजुरीमा उल्लेख छ ।