सुनिल कार्कीपाल्पा । विश्वभर कोभिड –१९ को संक्रमण फैलिरहेको परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुसी भएका छन् । बन्दाबन्दिका कारण एसइईको चिन्तामा रहेका विद्यार्थी रेडियोले पढाउन थालेपछि उत्साहित भएका हुन् ।
एसइई पाठशाला पाल्पाका मदनपोखरा, रेडियो रामपुर र मुक्तिनाथ, गुल्मीका गुल्मी, रुरु र श्रृंगेश्वर, बाग्लुङको रेडियो सारथी तथा अर्घाखाँची, नुवाकोट, रसुवा, जुम्ला, बाँके, पर्वतलगायत जिल्लाका ३० भन्दा बढी रेडियोले पनि शुरु गरेका छन् । स्थानीय सरकार तानसेन नगरपालिकाको आर्थिक सहयोग र एशियाको पहिलो सामुदायिक रेडियो मदनपोखराको सहकार्यमा उत्पादन भएको ‘दूरशिक्षा रेडियो कार्यक्रम’ शुरु गरिएको छ ।
पाठशालाले पाल्पासहित छिमेकी जिल्लाका ३० हजार बढी विद्यार्थी लाभवान्वित भइरहेका छन् । तानसेन नगरपालिका–९ की दिप्ती भट्राई एसइईको तयारी गरिरहँदा एक्कासि लकडाउनले परीक्षा मिति अनिश्चित बनेको र ट्युसन बन्द हुँदा चिन्तामा थिइन् । अहिले उनी रेडियोमार्फत शिक्षकले कक्षामा झैँ पढाएपछि नियमित कक्षामा सहभागी भएको अनुभव गर्छिन् ।
परीक्षा स्थगन भएपछि सामुदायिक रेडियो मदनपोखराले ‘दूरशिक्षा रेडियो कार्यक्रम’ मार्फत विद्यार्थीलाई पढाइरहेको छ । रेडियोको नियमित कक्षा सुनेपछि धेरै कुरा बुझ्ने अवसर मिलेको र कक्षामा शिक्षकले पढाएजस्तै अनुभव भएको एसइईको तयारीमा जुटेकी अर्की विद्यार्थी सुजता गैरेको भनाइ छ ।
तानसेन नगरपालिकासँगको सहकार्यमा हरेक दिन बिहान सवा १० देखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम ‘एसइई पाठशाला’ उत्पादन र प्रसारण हुने गरेको छ । विद्यार्थीको ध्यान बाहिरी कुरामा नगइ परीक्षाको तयारीमा पुगोस भन्ने उद्देश्यले रेडियोबाट पढाइने कार्यक्रम शुरु गरिएको स्टेशन पवन्धक राजेशकुमार अर्यालले बताउनुभयो ।बन्दाबन्दीको अवस्थालाई ध्यानमा राखी शुरु गरिएको एसइई पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्युटर विषयको पठनपाठन गरिएको छ । हरेक विषयका कक्षा हरेक दिन ४५ मिनेट हुने गरेको छ । घरमा बन्दाबन्दीमा परेका बालबालिकाले रेडियोमार्फत पढ्न, नयाँ कुरा सिक्न र नबुझेका कुरा शिक्षकसँग सोध्न पाउने भएकाले पाठशाला अत्यन्त प्रभावकारी बनेको शिक्षकहरुको दाबी छ ।
एसइई पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्यले कम्प्युट, होत्रीराज ढुंगानाले अंग्रेजी, र एकराज ज्ञवालीले सामाजिक अध्ययन, तानसेनको जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान र माउन्ट भ्याली बोर्डिङ स्कूलका प्रेमराज खरालले नेपाली विषयपढाउँदै आउनुभएको छ ।
रेडियो मदनपोखराले विसं २०६० देखि २०६३ सम्म कक्षा ८, ९ र १० लाई अंग्रेजी, गणित र विज्ञान विषय पठनपाठन गराएको थियो । कोरोना भाइरस कोभिड १९ ले एसईई दिने तयारीमा रहेका लाखौं विद्यार्थको भाविष्य अन्यौलन हुने चिन्ता बढी रहेका बेला रेडियो पाठशाला जस्ता कार्यक्रमले विद्यार्थीलाई हौसला बढाएको छ ।