सुखिलाल चौधरी उदयपुर । त्रियुगा नगरपालिकाको वडा नम्बर ३ स्थित भुल्के २ दुई साता यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको छ । मुलुकमा अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमा २८ जना भुल्केकै छन् । भुल्केमा कसबाट कसरी कोरोना संक्रमण फैलियो ? तथ्य सार्वजनिक भइसकेको छैन । तर त्यो सबैको चासोको विषय बनेको छ ।
दुबईबाट आएका एक युवकमा पनि संक्रमण देखिएको छ । उनी बाबुको मृत्यु भएपछि दुबईबाट फागुन १० गते नेपाल आए हुन् । त्यसको भोलिपल्ट विहानै काठमाडौंबाट जनकपुरसम्म हवाई मार्ग र जनकपुरबाट निजी भारतीय नम्बर प्लेटको बोलेरोमार्फत घर आई पुगेका हुन् ।
उनी यसअघि नै संक्रमित थिए वा पछि संक्रमित भए ? भन्ने अझै प्रष्ट हुन सकेको छैन् । उनी सुगर र प्रेसरका विरामी हुन् । उनी आफैले चैतको पहिलो साता बाबुको स्मृतिमा मस्जिद्मा खानेपानीको धारा जडान गर्नुको साथै शौचालय तथा धारा बनाउन सहयोग गरेका थिए । त्यो कार्यमा आफैले पनि दैनिक ३, ४ घण्टा खटिएका थिए । ५, ७ दिनसम्म १६ जमाति र उर्दु पढ्ेर आएका विद्यार्थीसँगै काम गरेका थिए । त्यही बेला समय अरुबाट संक्रमित भएको हो ? वा उनले नै १६ जमाती र अन्यलाई संक्रमित गराएको हो ? एकीन हुन सकेको छैन् । संक्रमितको पत्नी र भाइ लगायत परिवारका अन्य सदस्यमामा संक्रमण देखिएको छैन ।
अर्का संक्रमति दिल्ली बैंगलौरबाट फागुन ३० गतेमात्रै भुल्के आएका हुन् । उनी पनि भारतको जयनगर हुँदै नेपाल प्रवेश गरेको देखिन्छ । उनी घरमा आएपछि केही दिन घरबाट बाहिर ननिस्केको स्थानीय बताउँछन् । उनको खासै स्थानीयसँग उठबस नभएपनि माक्स बनाउने पतिपत्नी सँग प्रायः नजिक रहेको स्थानीय बताउँछन् । उनी मदरसा लकडानपछि मात्रै जान थालेको स्थानीयको भनाई छ । उनकी पत्नीमा भने संक्रमण देखिएको छैन ।
भारतमा कोरोना संक्रमण फैलिएपछि स्कूल कजेल बन्द भएपछि उत्तररप्रदेशको लखनउमा उर्दु पढ्ने एक विद्यार्थी चैत ५ गते रेलमार्ग हुँदै भारतको जयनगरबाट नेपाल प्रवेश गरे हुन् । उनी सिरहा माडरमा राजविराज जाने बसमार्फत लहानसम्म आएको देखिन्छ । उनी लहानबाट त्यहीदिन विङ्गरमा मोतिगडा र मोतिगडाबाट आफ्नै बाबुको अटोमार्फत घर आइपुगेको ‘ट्राभल हिस्ट्री’ खुलेको छ । घर आएको केहीदिनपछि ज्वरोसमेत आएको उनलाई स्थानीय मेडिकलबाट औषधि किनेर खाएपछि सामान्य भएसँगै मस्जिदमा बाक्लो आउजाउ भएको पाइएकाले रोग संक्रमण उनीबाटै भएको स्थानीयको ठहर छ ।
उनको परिवारका अन्य ४ जना उनका बुबा, फुपाजु, फुपु र भाइमा समेत संक्रमण देखिएको छ । कतै उनीबाटै कोरोना संक्रमण फैलिएको हो कि ? भन्ने स्थानीयको आशंका छ । गाईघाट बजारमा पसल गरेर बसेका फुपाजु, फुपु र भाइ लकडाउनको तेस्रो वा चौथो दिनपछि मात्रै भुल्के ससुराली आएका थिए । फुपु, फुपाजुलाई लकडाउनमा बजारको घरमा आउँजाउँ गर्न, तरकारी किन्न जान असहजिलो भएपछि ससुरालीले नै उनीहरुलाई भुल्के बोलाएका हुन् ।
उर्दु पढ्ने विद्यार्थीले लकडाउनमा फसेका १६ जमातीलाई खाना पकाएर खान दिनेदेखि सेवा सत्कारसम्मको काम गरेको हुनाले उनैबाट जमातीमा संक्रमण फैलाएको अनुमान स्थानीयले गर्दै आएको मुस्लिम टोल विकास संस्थाका सचिव अनिस राइन बताउँछन् ।
उर्दु पढ्ने विद्यार्थीबाटै मस्जिदका मुली (पुजारी) संक्रमित भएको आशंका स्थानीयले गरेका छन् । पुजारी स्थानीय मदरासाका प्रा.वि. शिक्षक हुन् । उनको घर सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखामा छ । उनी हरेक साता ससुराली र घ आउजाउ गर्थे । ३३ जनाको परिवारमा उनी बाहेक अरु कसैमा संक्रमण देखिएको छैन् । उनी फागुन पहिलो साता सप्तरीको बोदे बसाइनमा भएको मुस्लिमको अन्तर्राष्ट्रिय सम्मेलन इज्तिमा कार्यक्रममा भने सहभागी भएका थिए ।
अर्का संक्रमित सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका हुन् । उनी पनि केही समयअघि भारतको सुरत हुँदै नेपाल आएका हुन् । उनी चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा मावालीमा विहेमा आएका थिए । भुल्के आएपछि लकडाउनको कारण भुल्केमै बस्न बाध्य भएका हुन् सप्तरीमा रहेका उनको परिवारका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छैन् । उनी लकडाउनमा मस्जिदमा नवाज पढ्न जाने बेलामा संक्रमण भएको हो कि ? भन्ने स्थानीयको आशंका छ ।
भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० माक्स बनाउने पतिपत्नी नै संक्रमित भएका छन् । उनीहरुको घरमा लकडाउनकै बेला दिल्ली बंगलौरबाट आएका युवक र उर्दु पढ्ने विद्यार्थी साँझ विहान प्रायः आउने जाने गरिरहन्थे । घरमा आउने ती युवक र विद्यार्थीबाटै दम्पतीमा संक्रमित भए कि ? भन्ने स्थानीयको अनुमान छ । मास्क बनाएर बितरण गर्ने दम्पतीको बुहारी, नाति र नातिनीमा भने संक्रमण देखिएको छैन् । मस्जिदमा नवाज पढ्न सवै गएको देखिन्छ । संक्रमितहरु सवै मस्जिदको २५–३५ मिटरको दूरी आसपासका हुन् ।
धर्म प्रचारकबाट कोरोना फैलिएको अनुमान गलत सावित भएको छ । धर्म प्रचारक भारतबाट मंसिर २५ गते जोगवनी नाका भएर नेपाल प्रवेश गरेको रेल टिकट प्रमाण बोकेका भारतीय धर्म प्रचारकहरु सदरमुकाम गाईघाटदेखि ३ किलोमिटर दक्षिण भुल्के मस्जिदमा चैत ५ गते आएको खुलेको छ । त्यसअघि १२ भारतीय र ४ नेपाली मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिदमा हुँदै उदयपुरको सुन्दरपुरसँग सीमा जोडिएको सप्तरीकै फत्तेपुर मस्जिद बसेर उदयपुर प्रवेश गरेको ट्राभल हिस्ट्री प्रहरीले पत्ता लगाएपछि संक्रमण उनीहरुबाट नभई नेपालीबाट सरेको हुन सक्ने अनुमान गरिएको छ ।
सिवाईभन्दा अगावै फत्तेपुर मस्जिद, बरमझिया मस्जिदमा बस्नेहरुको स्वाब रिपोर्टसमेत नेगेटिभ आएपछि उनीहरुबाट संक्रमण फैलिएको शुरुवाती अनुमान मिथ्या सावित भएको छ ।
वैशाख १३ गते सिबाई, मोथियाही लगायतको ठाउँको व्यक्ति गरी १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो । मोरङ र सुनसरीमा समेत भारतीय जमाती बसेको मस्जिदमा सम्पर्कमा रहेको व्यक्ति कसैमा पनि संक्रमण देखिएको छैन् । उनीहरु भुल्केकै नुरी मस्जिदमा संक्रमित भएको अनुमान गर्न सकिन्छ । संक्रमितहरू १२ भारतीय, ४ विराटनगर (मोरङ) र १२ स्थानीयको कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।