एउटा नौलो अनुभूति उपत्यका भित्र धेरै थरीका चराचुरुङ्गी बस्दा रहेछन् । बाहिर यसो हेर्दा कतै काग, कतै परेवा, कतै भँगेरा त कतै ढुकुर अनि फरकफरक आवाज। यी आवाजले अग्लाअग्ला घरहरु संगीतमय बनेका छन् । हिजो यो उपत्यकामा चराचुरुङ्गी नै छैनन् जस्तो लाग्थ्यो तर आज गाउँघरमा गुलेली खेलेको याद आउँछ । यी पशुपंक्षी पनि यतिबेला कोलाहलबाट मुक्त भएका छन् । तर यीनलाइ पनि खानाको समस्याले भने निकै चिन्तित बनाएको छ । विचरा ! पीडा त यी पशुपंक्षीलाई पनि नभएको कहाँ हो र कसले सुनिदिने यो आवाज !!!
काठमाडौं उपत्यका सुन्दर र शान्त देखिएको छ । भीडभाड र होहल्ला केही छैन । धुलोधुवाँ र सवारी साधनको हल्लाले आक्रान्त बनेको काठमाडौं शहर आजभोलि शान्त देखिएको छ । त्यसो त विश्वका अधिकांश देश नै शान्तमय भएको छ आजभोलि । काठमाडौं शान्त र सुन्दर देखिनुको एउटै कारण हो कोरोनाभाइरस अर्थात कोभिड-१९ ।
खुला आकाशमुनि चिल्लो बाटो सुनसान छ । एकअर्कासँग टाँसिएका घर पनि एक्लो र एकलकाटे महशुस् गरिरहेका छन् । एक घरले अर्को घरको आवाज सुन्दैन, ति घरका धेरैजसो कोठाहरू खाली छन् । मानिस भएको कोठामा पनि निराशा छाएको छ । यी घरहरुमा यतिबेला विद्यार्थीहरु र मजदुरी गरेर खाने श्रमिक मात्रै छन् जस्तो लाग्छ । सबै घर फर्किने बाटो हेरिरहेका जस्तो देखिन्छन् । आफूसँग भएको खाद्यान्न रित्तिने बेला हुँदैछ, राहतको नाममा बाँडेको ५ किलो चामलले कति दिन भात खाने हो ? त्यो पनि कहाँ र कसले दिने हो ? थाहा छैन।
बिहान अर्थात् बेलुका घरको कौसीमा उभिदा सबै घरको माथि काला र हरिया कलरका ट्याङ्की मात्रै होइन कति बेला दुई चारजना मानिसका टाउका पनि देखिन्छन्। कोठामा कोचिएर बस्दाबस्दा थकित भएकाहरु कौसीलाई नै स्वर्ग सम्झिदा हुन् । कतिपयले त यसको पनि अनुभूति लिनै पाएका छैनन्, छिडीको एउटा सानो कोठामा कोचिएर बसेका छन् । १२ घन्टा काममा व्यस्त रहनेहरु २४ घण्टा ओछ्यानमै बिताइरहेका छन्, ओछ्यानलाई पनि सुख छैन।
अर्को कुरा मोबाइल, ल्यापटप र टेलिभिजनलाई पनि चिन्ता छ, चार्ज हुने समय नै छैन। आजभाेलि त फेसबुक चलाउन पनि दिक्क लाग्छ। यूट्यूबमा कुनै नौलो विषय वस्तु छैन, चर्चा छ त केवल कोरोनाको मात्रै । शुरुमा एकान्त बास बस्न केही अप्ठ्यारो भएको थियो तर अहिले बानी परिसक्यो, अब चिन्ता खानाको छ, थाहा छैन कहिलेसम्म रहन्छ यो अवस्था।