प्युठान । बन्दाबन्दी (लकडाउन)को जिल्लाका ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत मूल्यवृद्धि भएको छ । ग्रामीण क्षेत्रका स्थानीय व्यापारीले विभिन्न कारण देखाएर दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य सामग्रीमा मूल्य वृद्धिभएपछि उपभोक्ता मारमा परेका छन् ।
बन्दाबन्दी हुनुअघि १ हजार ९ सय ५० मा पाइने २५ किलो चामलको थोक मूल्य अहिले २ हजार १ सय ९० रुपैयाँ पुगेको छ । त्यो चामल गाउँमा पहिला २ हजार ३ सयमा खुद्रा बिक्री हुँदै आएको थियो । अहिले बढेर २ हजार ५ सय रुपैयाँमा किनेर खानुपरेको गौमुखी गाउँपालिका १ अर्खाका मित्र थापाले बताउनुभयो । ‘श्रमजीवीहरुको आयको बाटो टुटेको अवस्थामा खाद्यवस्तुमा मूल्य वृद्धि हुनुले समस्याग्रस्त बनाएको छ’ , उहाँले भन्नुभयो, ‘व्यापारीले मूल्यवृद्धि भइआएको कारण देखाउँदै बढी मूल्य लिने गरेका छन् ।’
गाउँमा यसअघि २५ रुपैयाँ मा बिक्री भइरहेको नुन अहिले किलोको ३० पुगेको छ । चिनीको मूल्य ८५ बाट ९५ भएको छ । मसुरोको दाल पहिला १ सय ३० रुपेयाँमा पाइन्थ्यो, अहिले १ सय ६० पर्छ । खाने तेल लकडाउन शुरु हुनुअघिसम्म प्रतिलिटर १ सय ५४ रुपैयाँ थियो, अहिले १ ८० रुपैयाँ भएको छ । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केदारमान कक्षपति अधिकांश खाद्य वस्तु मुलुक बाहिरबाट आउने र डलरको भाउ वृद्धिभएकाले मूल्य बढेको बताउनुहुन्छ ।
‘अन्तरराष्ट्रिय बजारमा डलरको भाउ वृद्धि भएपछि बाहिरी मुलकबाट आउने वस्तुको मूल्य वृद्धि भएको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा उत्पादित खाद्य उपजको कच्चा पदार्थको वृद्धि तथा बाह्य मुलुकबाटै सामान ल्याउनुपर्ने भएकाले मूल्य वृद्धि भएको हो ।’ जिल्लामा कालोबजारी शून्य भएको बताउँदै उहाँले यसमा आफूहरुले समेत सबै पालिकामा समन्वय गरेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले लकडाउन व्यवस्थापनमै समय बढी ध्यान गएकाले हाल बजार अनुगमन नगरिएको बताउनुभयो । बजार मूल्यबारे प्युठान उद्योग वाणिज्य संघसंँग निरन्तर समन्वय भइरहेको पन्थीको भनाइ छ ।