काठमाडौं । पार्टीमा पछिल्लो समय देखिएको विवादबारे सहमति खोज्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शुरु भएको छ ।अध्यादेश र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर रस्साकसी भइरहेको त्यसमा सहमति जुटाउन सचिवालय बैठक बसेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी हुनुहुन्छ ।
सचिलालय बैठकमा नेताहरुको आसन परिवर्तन भएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल कमल दाहाललाई एकै रोहरमा राखिएको छ । अभ्यक्ष दाहाल यसअघि फरक ठाउँमा बस्दै आउनु भएकाे थियो । यसअघि अध्यक्ष दाहाल बस्ने गर्नुभएको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई राखिएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नेता नेपालको आमन्ने सामन्ने बनाइएको छ ।
अध्याधेश र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर नेकपामा शीर्ष नेताहरुबीच केही समय यता कित्ताबन्दी भइरहेको छ । विवाद र कित्ताबन्दीकै कारण प्रधानमन्त्री ओली संकटमा पर्न थालेपछि समाधानको लागि सहमति खोज्न सचिवालय बैठक बसेको हो ।
विवाद अन्त्यको लागि सहमति खोज्न गएको बुधबार पनि नेकपा सचिवलय बसेको थियो । तर त्यो बैठक विभिन्न पक्षबीच अनौपचारिक छलफल जारी राख्दै पुन बस्ने गरी टुंगिएको थियो । अघिल्लो बैठकपछि प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद अन्त्यको लागि विभिन्न नेताहरुसँग परामर्श गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यसबीचमा अर्को अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसँग छुट्टाछुटै भेटवार्ता गरिसक्नुभएको । प्रधानमन्त्रीले सचिवालय बैठक हुनुअघि आजै उपाध्यक्ष बामदेव गौतमसम्ग समेत छलफल गर्नुभएको छ ।
यो पनि पढ्नुस्
https://45.77.241.73/2020/05/185550