काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी समिति बैठक वैशाख २५ गते हुने भएको छ । पार्टीमा पछिल्लो समय देखिएको विवादबारे सहमति खोज्न शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी समिति बाेलाउने निर्णय गरेकाे हाे ।
अध्यादेश र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर रस्साकसी भइरहेको बेला त्यसमा सहमति जुटाउन सचिवालय बैठक बसेको हो । बैठकले वैशाख २५ गते स्थायी समिति बाेलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘स्थायी समितिको बैठकको एजेण्डा तय गर्न वैशाख २४ गते फेरि सचिवालय बैठक बस्नेछ’, उहाँले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी हुनुहुन्थ्यो । पार्टीमा पछिल्लो समय भइरहेको विवादबारे बैठकमा अध्यक्षद्वय ओली र दाहालले आत्मआलोचना गर्नुभएको छ । ‘अहिले देखा परेको विवादलाई दुबै अध्यक्षले आफ्ना कमीकमजोरीको रुपमा स्वीकार गर्नुभयो’, उहाँले भन्नुभयो, ‘पार्टीलाई एकतावद्ध राख्ने तथा विधि र पद्धति अनुसार संचालन गर्ने निर्णय भएको छ। समाजवाद उन्मुख सामाजिक, आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय भएको छ ।’
वरिष्ठ नेता नेपालद्वारा तेस्रो अध्यक्ष अस्वीकारकाठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गर्नुभएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको लागि प्रधानमन्त्री ओलीले वरिष्ठ नेतालाई पार्टीको तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई कोरोना भाइरस संक्रमण अन्त्यपछि प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउनु भएको हो । छलफलमा वरिष्ठ नेता नेपालले आफूलाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइनेप्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई संसदमा ल्याउन उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय समेत भएको बताउनुभयो । ‘उहाँलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय स्वाभाविक रुपमा त्यो अन्तरनिहीत छ’, श्रेष्ठले भन्नुभयो, ‘उहाँ प्रतिनिधिसभाको सदस्य भएर आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खुल्छ ।’
प्रवक्ता श्रेष्ठले बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम र भइरहेका कार्यको पनि समीक्षा भएको बताउनुभयो । ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबै एकजुट भएर लाग्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
बैठकमा आसन परिवर्तनसचिलालय बैठकमा नेताहरुको आसन परिवर्तन भएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल कमल दाहाललाई एकै रोहरमा राखिएको छ । अभ्यक्ष दाहाल यसअघि फरक ठाउँमा बस्दै आउनु भएको थियो । यसअघि अध्यक्ष दाहाल बस्ने गर्नुभएको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई राखिएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नेता नेपालको आमन्ने सामन्ने बनाइएको छ ।
यो पनि पढ्नुस्
https://45.77.241.73/2020/05/185612