प्रकाश गौतम रुकुम (पश्चिम) । यहाँको एक नगरपालिकाले खडा गरेको विपत व्यवस्थापन कोषमा ६६ लाखभन्दा बढी रकम जम्मा भएको छ । जिल्ला काे पश्चिममा पर्ने चौरजहारी नगरपालिकाले स्थापना गरेको 'कोभिड -१९ विपद व्यवस्थापन कोष' मा हालसम्म ६६ लाख १५ हजार ६ सय भन्दा बढी रकम जम्मा भएको हो ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि नगरपालिकाले खडा गरेको कोषमा विभिन्न व्यक्ति, संघ-संस्था, राजनीतिक दल लगायतले सहयोग गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार कोषका लागि विभिन्न व्यक्ति तथा संघ-संस्थाले जिन्सी तथा नगद सहयोग गरेका हुन् । आइतबार मात्रै एच.डि.सी.एस.आशा बालविकास सेवा अन्तर्गतको समुदायमा आधारित पुर्नस्थापना केन्द्र (सिविआर) ले विपत व्यवस्थापन कोषका लागि ८० हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ ।
मानव विकास तथा सामुदायिक सेवा (आशा बाल विकास सेवा) अन्तरर्गत अपांगता भएका व्यक्ति र परिवारको क्षेत्रमा विगत ११ वर्षदेखि काम गदै आएको सिविआरले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको संस्थाका सहजकर्ता सन्देश जैसीले बताउनुभयो ।
कार्यकारी अधिकृत केसीका अनुसार हालसम्म सबैभन्दा बढी रकम चौरजहारी अस्पतालले उपलब्ध गराएको छ । यसैबीच नगरपालिकाको विपद कोषमा कर्णाली प्रदेश सरकारले २० लाख र नगरपालिका आफैले २८ लाख रुपैँया जम्मा गरेका छन् । विपद कोषमा जम्मा भएको बजेट कोरोना भाइरस नियन्त्रण तथा रोकथामसँग सम्बन्धित कार्यमा खर्च भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा क्वारेन्टाइन र आइसोलेसन निर्माण, विपन्न परिवारलाई राहत वितरण तथा देशका विभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धारमा रकम खर्च भइरहेको नगर प्रमुख विशाल शर्माले बताउनु भयो ।