नवलपरासी । चिनी उद्योगले भुक्तानी नदिएपछि उखु किसान मर्कामा परेका छन् । नवलपरासीको बर्दघाट–सुस्ता पश्चिमका उखु किसान उधारोमा उखु दिएबापतको रकम चिनी उद्योगबाट भुक्तानी नपाएपछि मर्कामा परेका हुन् ।
उखु किसानले तीनवटा चिनी उद्योगबाट ४० करोड बराबरको रकम पाउन बाँकी भएपनि हालसम्म भुक्तानी नहुँदा किसान समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उखु कृषक समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले पाँच करोड बराबरको भुक्तानी दिन बाँकी छ । वाग्मतीले आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीले २०७५–०७६ र इन्दिराले आर्थिक वर्ष २०७५–०७६ काे किसानको उखु खरीद गरेबापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो ।
उखु खरिद गर्ने तीनै वटा उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा आफूहरु दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ताले बताए।चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्ने क्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर–७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ ।
वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएको छ । वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र केही रकम भुक्तानी गर्ने र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रवन्धक टंकनाथ काफ्लले बताउनुभयो ।
पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६– ७७ मा कुल ३ हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ ।
यसैगरी अघिल्लो आव २०७५/०७६ मा कुल ३ हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।