काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको बताउनुभएको छ । गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण रहने बताउनुभएको छ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सहभागी हुनुभएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिएको बताउनुभयो । उहाँले विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने बताउनुभयो ।
‘नेक्स्ट यरमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ, पर्यटन आय अलमोस्ट हामीले आश गर्न सक्दैनौं’ उहाँले भन्नुभयो, ‘त्यसैगरी वैदेशिक लगानी थप लगानी हामी आश गर्न सक्दैनौं सँगसँगै नेपालबाट बाहिर एक्स्पोर्ट भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ । जसले गर्दा हामीलाई वैदेशिक मुद्राको संचिती मुद्राको परिचालनमा भने केही ठूलो प्रेसरमा काम गर्नुपर्ने हाम्रो अनुमान छ ।’
चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्य पूरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिड सुरु भएयता वित्तीय क्षत्रको ऋण र निक्षेप बढ्न नसकेको बताउनुभयो । यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उहाँले बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको स्थायीत्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको समेत उहाँले बताउनुभयो ।
५ करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको समेत बताउनुभो । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले बताउनुभयो ।