भट्टरार्इ विष्णु
परिवारको कान्छो छोरा सवैको मायाले पुलपुलिएको मान्छे,जे जस्ता गल्ती गरेपनि त्यसको कुनै सजाय भोग्नु पर्थेन। बरु मेरो गल्तीको सजाय दाजु तथा दिदीले भोग्नु परेको थाहा छ मलाई । मेरो गल्तीको सजाय अरुले पाएकोमा त्यतिबेला म आफैलाई सर्वेसर्वा ठान्थें । तर आजभोलि भने तिनै कुराहरु सम्झेर पश्चाताप लाग्छ । सानो छँदा पढाइमा पनि कहिले राम्रो रिजल्ट ल्याइनँ। खै,के गरि पास हुन्थें मलाई नै थाहा छैन । तर प्लस टु भने राम्रो प्रतिशत ल्याई पास गरें ।
प्लसटुपछिउच्च शिक्षाको लागि मैले आफनो परिवार छोडनुपर्ने भयोे । आजसम्म मेरो जिम्मेवारी वा भूमिका के हो भन्ने थाहासम्म थिएन मलाई । तर पढाइकाखातिर परिवार छोड्नु नै थियो । त्यसैले लागें काठमाण्डौतिर । मेरालागि सपनाको सहर थियो काठमाण्डौं । मेरा अग्रज दाजुहरुको कलात्मक शैलीको बढाइ चढाइले कहिले जाऊँ भन्ने लागिरहन्थ्यो काठमाण्डौ । शुरुकादिनहरुमा काठमाण्डौ नयाँ भएकोले पढाइ भन्दा ध्यान अन्यत्र मोडिएन,रिजल्ट पनि राम्रै आयो ।विस्तारै विस्तारै साथीहरु वढ्दै गए । उमेरको प्रभावसँगै केटा र केटी साथी सँगसगै बढदै गए ।
हाम्रो परिवेश अनुसार व्याचलरसम्म आइपुग्दा धेरै केटीहरुको बिहे भैसकेको हुन्थ्यो । सबै राम्रो लाग्थे तर कुनकेटी विहे भाको हो कुन होइन भन्ने छुटयाउन गाह्रो थियो । धेरैजसो साथीका आ आफनै गर्लफ्रेण्ड थिए । मलाई पनि कलेज शुरु गरेदेखिनै एकजना केटी निकै मनपथ्र्यो । ऊ निकै मिहेनेती, आर्कषक रुप, जिउडाल पनि सर्लक्क परेको थियो । विभिन्न धार्मिक शास्त्रमा वर्णन गरिने उर्वशी भन्दा कम थिइन । उसको रुप र सरलपना देखेर हरेक केटाहरु मोहित हुन्थे । म पनि त अर्कै ग्रहको प्राणी थिइनँ । उसँगको सामिप्यता बढाउन निकै प्रयास गरें तर जहिले पनि उसको ध्यान पढाइमा मात्र हुन्थ्यो । उसकै प्रेरणाले मेरो ध्यान पनि पढाइमै केन्द्रीत हुन थाल्यो । मेरा अन्य केटा साथीहरुले उसलाई पाउने आशा मारिसकेका थिए । तर म भने उसँग घण्टौ पुस्तकालयमा विताउन थालें । त्यतिखेर हाम्रो कुराकानी क्लासमा टिचरले पढाएको विषयवस्तुमै केन्द्रीत हुन्थे । तर हाम्रो छलफल घण्टौंसम्म चल्थ्यो ।
हामीबीचको दुरी क्रमशः घट्दै गयो । उसले कुन रुपमा हेर्थी मलाई थाहा छैन,तर मेरो ध्यान केवल उसैमा हुन्थ्यो ।अरु केटाहरुले उसलाई पिछा गर्न छाडिसेकेका थिए अर्थात मायाको रेशमा म मात्र एक्लो थिएँ । तर उसको सामू आफ्नो प्रेम अभिव्यक्त गर्ने ममा सहास थिएन । एक दुईपटक आँट नगरेको पनि होइन तर जब उसको अगाडि पुग्थें,सपेराको अगाडि सर्पको जस्तै हालत हुन्थ्यो मेरो ।
त्यसो त म पनि छिट्टै हिम्मत हारिहाल्ने मान्छे त कहाँ हूँ र ? एक दिन पुस्तकालयमा हिम्मतका साथ भूमिका बाँधी बाँधी उसलाई मेरो कुरामा केन्द्रित गराएँ । एकै स्वासमा भनें–म तिमीलाई मन पराउछु ।मेरो कुरा सुनेर ऊ अवाक भइ । उसको मुहारमा देखिएको एकैछिन अघिको कान्ति मैलियो । यता म पुलिसको अगाडि रहेको अपराधी जस्तै बनें । उसले मन पराउनुलाई शारीरिक भोग भन्ने अथ्र्याइ वा अरु कुनै । ऊ चुपचाप उठेर सरासर कलेजवाट वाहिरिइ । मलाई लाग्यो मैले न भन्नुपर्ने,ठूलो गल्ती पो गरें की ?
मलाईबेलुका होस्टलमा पनि खाना खान मन लागेन । रुम मेट साथी बिदामा घर गएको थियो । त्यसैले एक्लै भएकोले मनमा अझ धेरै कुराहरु खेल्न थाले । त्यसपछि मैले तीन चार पटक कल गरें तर उसले रिसिभ गरिन । मैले मनपराउनुको कारणहरु प्रष्ट्याउदै म्यासेज लेखें र लेखे ‘गुड नाईट’अनि सेन्ड गरें । विहान ब्युँझदा मोवाईलको म्यासेजबक्समा एउटा म्यासेज देखापर्यो । म्यासेज उसले नै पठाएकी थिइ । उकुस मुकुस उत्साह बोकेर म्यासेज बक्स ओपन गरें र पढें ।
प्रतिक ! सरी म भुसुक्कै निदाएँछु । तिमी मलाई साँच्चिकै मन पराउछौ भने मैले भन्नैपर्छ म मुस्लीम हुँ । हाम्रो धर्म नै मिल्दैन । त्यसमाथि तिमी कुन ठाउँको,म कुन ठाउँको । अर्को कुरा हाम्रो परिवारले पनि त हामीलाई स्वीकार्दैन । हो,म मान्छु धर्म, भुगोल जस्ता कुराहरु हेरेर प्रेम गरिदैन । प्रेमलाई यो र त्यो भनेर सीमान्तकृत पनि गरिँदैन । प्रेमको धर्म भन्नु विश्वास र भरोसा हो । प्रेमको भूगोल भन्नु हृदयको क्षेत्रफल हो ।तर अशुले म्यासेज च्याट गर्न भने छोडिनन् । मोवाईलमा म्यासेजको थाक लाग्दै गयो । फोनमा कुराकानी बढ्दैगयो । यसले हामीबीचको सामीप्यता अझ बढाउँदै लग्यो ।
हामी प्रेमको सागरमा डुब्दै तैरदै गयौं । छुट्टी छैन भने पनि अरुकुनै न कुनै बहाना बनाएर महिनाको एकदिन बाहिर निस्केर मसँग रमाउन थाली । अशुसँग बाहिर डेटिङ्गमा निस्कन थालेपछि मेरो प्रेमले अझ सार्थकता पाउनथाल्यो । हाम्रो प्रेममा कुनै वासना थिएन ।
हामीले हाम्रो पढाइसँगै जीवनको उद्देश्य पनि एउटै वनाएका थियौ । प्रेमले मात्र जीवनको गाडी गुड्न सक्दैन भन्नेमा दुवै जना सहमत थियाै । जसको लागि कलेज भन्दा बाहिरको समय लोकसेवा तथा विभिन्न बैकिङ तयारी कक्षाको लागि छुटयाएका थियौ । कलेजको पढाइ पनि अन्तिमतिर पुगिसकेको थियो । अन्तिम बर्षको परीक्षा पनि सकियो । अव हामी पूरा समय आयोगका तयारी कक्षामा लगाउने निर्णयमा पुग्यौं । अशु त झन् फरासिली भएकी थिई । उसको आवाजको झन्कार कानैभरि गुन्जायमान भैरहन्थ्यो र मन सिमल भुवा बनेर पुग्थ्यो अनि उसैको सामिप्यतासँग अल्झिएर पिङ खेल्थ्यो । बहलाउने बस्तु भेटेपछि मन बहकिँदो रहेछ । अशुसँगको प्रेम र सम्पर्कले म यति बहकिँए कि हम्मेसी मन फर्किएर घर परिवारसम्म पुग्दैनथ्यो । त्यतिबेलै थाहा भो,मायाजालले मान्छेलाई यथार्थ धरातलबाट बहकाएर भावनात्मक उडान गराउँदो रहेछ ।
एकदिन यस्तो बिन्दुमा पुगें,जुन स्वार्थले मैले अशुसँग सम्बन्ध स्थापित गरेको थिएँ, त्यो स्वार्थ प्राप्त गर्न म सफल भएँ । तर मेरो स्वार्थले मलाई त्यो गहिराइमा पुर्याइसकेको थियो, जहाबाट फर्किनु लगभग असम्भव थियो । तब पो मलाई महसुस भयो कि प्रेम भनेको समुन्द्र रहेछ । जसरी किनारमा खेल्ने अज्ञानीहरुलाई समुन्द्रले गहिराइतिर खिच्दै लान्छ । हो त्यसैरि म प्रेमको समुन्द्रमा हराउदै गएँ । प्रेमले मेरो पढाइ विगारेको थिएन,झन मिहेनेती भएको थिएँ । अझपरिपक्क पनि । मास्टर लेभलको पढाइमा कलेजमा ऊ र म मात्र प्रतिस्पर्धी थियौं । आयोगको परक्षामा पनि लिखितमा हामी दुवै नाम निकाल्न सफल हुन्थ्यौं तर अन्र्तवार्तामा सधैं फालिन्थ्यौं । तर यसबाट हामीले हरेश खान्थेनौं, बरु हामीमा परिपक्कता थपिदै जान्थ्यो ।
एक रात म निदाउनै लागेको थिएँ । अशुले कल गरी । भनी, अहिले नै तिमीलाई भेट्नुछ । जसरी हुन्छ तिम्रो होस्टेलमा आउछु । एकतर्फीयति भनेर उसले फोन राखी । म अलमलमा परें केटाको होस्टेलमा केटी मान्छे कसरी आउनु ? मैले तुरुन्त उसको मोवाईलमा सम्पर्क गरें तर अफ थियो । मेरो दिमागले केहीअथ्र्याउन सकेन । आखिर के भयो अशुलाई ?किनभने अशु यस्तो मान्छे होइन,जसलाई साना तिना कुराले छुदैन थियो । तर रात बिरात, यस्तो अर्पझट किन भेट्नुपर्ने जरुरी पर्यो अशुलाई ?
नभन्दै होस्टेलको अगाडि एउटा टयाक्सी रोकियो । ट्याक्सीबाट एउटा शुटकेश लिएर अशु ओर्लिइ । म हतार हतार गेटमा गएँ । वार्डेनलाई भनें–मेरो घरवाट आएको,जरुरी छ रे । होस्टलमा धेरै पुरानो भएकोले वार्डेनले पनि भित्र जाने सहजै अनुमति दियो । मेरो आवाज निस्कनु पहिले अशुले नै भनी–प्रतिक तिमीलाई अप्ठयारोमा पारी तिम्रो होस्टलमा आएकी छु । तर, मसँग अर्को विकल्प पनि त छैन । यदि तिमीले यो हिम्मत गर्न नसकेको भए सम्भवत हाम्रो भेट हुने थिएन ।
उफ् ! यो सपना हो या विपना छुट्याउन मलाई धौ धौ परिरहेको थियो । एकाएक अशुप्रतिको माया उर्लिएर आयो । हामी फटाफट रुमतिर लाग्यांै । अशु मेरो कोठामा आइ र मेरो काखमा घोप्टिएर घुक्घुकाउन थाली ।किन त्यसरी आतिएकी ? त्यस्तो के भयो अशु ?
मैले उसको जलमग्न आँखामा आँखा जुधाएर सोधें ।अशुले मेरो जिज्ञासु आँखामा आँखा जुधाइराख्न सकिन । र, च्याप्प अंगालो हाली । गालामा चुम्बन गरी अनि ओठ कपाउँदै थरथराउँदो आवाज निकाली ।प्रतिक ! तिम्रो हरेक अंगअंगमा म समाविष्ट हुन चाहन्छु ।
मैले मौन स्वीकृति स्वरुप आँखा चिम्लिएँ । अशुले फेरि उही उपक्रम दोहोर्याइ । मैले साथ दिदै गएँ । अर्थात, अशुको जलमग्न नयनलाई चुम्दै चुम्बनको बर्षा बर्षाउन थालेँ । जोड जोडले अंगालोमा कस्दै मलाई मदहोस बनाउदै थिइ ऊ । मुटु बेतोडले उफ्रिरहेको थियो,के भैरहेको छ भन्ने सोच्नसक्ने अवचेतन गुमिसकेको थियो । किनभने केही क्षणकालागि हाम्रा चेतनाहरु मस्तिष्कको काबु बाहिर पुगिसकेको थियो ।
तर जब हामी होसमा फर्कियौं, तब ग्लानी अनुभुत भो । होस गुमाई सकेपछि नमज्जा मान्नुले कुनै अर्थ पनि थिएन । मैले नमज्जा व्यक्त गरें । त्यस्तो परिस्थिीति श्रजना भएकोमा पछुतो पनि मानें । तर अशुले सवै सहज रुपमा लिइ र सम्हालिँदै भनी प्रतिकप्लिज यसलाई अन्यथा नठान । बरु तिमीले त मेरो अन्तिम इच्छा पूरा गरायौ । ऊ बोल्दै गइ–अब हामी एक अर्कासँग भेट नहुन पनि सक्छौं ।
उसको पछिल्लो वाक्यले विद्युत प्रवाह भैरहेको बिजुलीको नाङ्गो तार समाते जस्तो झंन्कार मेरो शरीरभरि फैलियो । शिथिल शरीर झन शिथिल भयो । अशुले भनि–तिमीले केहि सोध्न पाउदैनौ । किनभने म होसमा छैन । मनेपालगञ्ज जाँदैछु । सवै कुरा म तिमीलाई फोनमा बताउनेछु । टिकट देखाउँदै उसले थपि–मेरो भोलिको फ्लाईट छ । अशु कुन हिम्मतले बोल्न सकी कुन्नी,बोल्दै थिई नन स्टप । तर मेरो आवाज निस्किरहेको थिएन । त्यसैले अशुले नै बोली ।प्रतिकवास्तवमा हाम्रो प्रेमको अन्त्य यसरी नै हुनुथियो । हाम्रो सम्बन्धलाई यहाँ भन्दा अगाडि बढाउन सक्दैनथियौं । एक छिनको सहयात्रालाई हामीले जीवनभरको ठान्नु नै भ्रम थियो ।
कति सहजै भनि मेरो प्रेमको कुनै अर्थ नै थिएन ? के म उसलाई एकतर्फी प्रेम गर्थें?त्यसो भए किन ऊ मसँग नजिक भइ ?यदि ऊ मसँग प्रेम नगर्ने भए हाम्रो जिन्दगीका यात्राको खाका किन बनाई? के कारणले ऊ त्यस्तो अर्पझट नेपालगञ्ज फर्किनुपर्ने भयो ?के म प्रेमको भ्रममा मात्र थिएँ त ? मेरो मनमा उठेका यी र यस्तै हजार प्रश्नहरु ऊ मेरो सामुन्ने नै भए पनि सोध्न सकिनँ । एकोहोरो ऊउक्लै लगातार बोलिरहेकी थिइ ।
माफ गर प्रतिक, तिमी मेरो वाध्यता बुझने प्रयास गर ।संयोग मिलेछ भने कुनै दिन हाम्रो भेट फेरि हुनसक्छ । परिस्थितिले मानिसलाई कहाँबाट कहाँ पुरयाउँछ तर प्रतिक तिमीलाई म मेरो जीवनभर सधैं सम्झिरहनेछु । किनभने तिमी नै मरो पहिलो र अन्तिम प्रेमहौ ।
उसका शव्दले म थप आश्चर्य चकित थिएँ । कुनै थिएटरमा नाटक हेरिरहेछु जस्तै लाग्दैथियो । तर मेरो मुखबाट कुनै शव्द निस्किरहेको थिएन । नाटक सकिए जस्तै उसले आफै कोठाको ढोका खोली, म एउटा बालक जस्तै उसको पछि पछि तल झरें । उसले आफनो सुटकेश ढोकाको छेउमा राखेको रहेछ, त्यसलाई उठाइ गेट छेउ पुगी सकिछ । अघिको टयाक्सी त्यही रोकी राखेको थियो । भित्रबाट कसैले ढोका खोलिदियो । ऊ सरासर ट्याक्सी भित्र पसि । झ्यालबाट उसले मलाई हेरी र विस्तारै हात हल्लाई । तर म भने एउटा जडजस्तो उभिइ रहें । न उसको विदाइमा मेरो हात हल्लियो न त कुनै शव्द निस्कियो ।
त्यस दिन यता अहिले सम्म म उसकै बाटो कुरिरहेको छु । तर न कहिल्यै ऊ त्यसरी जानुपर्ने कारणसहितको फोन आयो,न त त्यो रातो ट्याक्सी नै फर्कियो । तर अनामनगरको त्यो चोक कुरिबस्नु मेरो दैनिकी बनेको छ ।