सनिउल्ला धोबीकपिलवस्तु । कपिलवस्तुमा २ हजार किशोरकिशोरीका लागि रेडियो संवाद कार्यक्रम सञ्चालन गरिएको छ । किर्डाक नेपालद्वारा सञ्चालित किशोरकिशोरीसँग संवाद कार्यक्रम जिल्लाकाे दुईवटा रेडियोमार्फत सञ्चालन गरिएको हो ।
नेपाल सरकारले कोरोना भाइरसको जोखिम कम गर्नका लागि लकडाउन लागू गरेपछि संवाद कार्यक्रम बन्द गरिएको थियो । किशोरकिशोरीका लागि अति नै महत्वपूर्ण कार्यक्रम विगत १३ दिनदेखी रेडियोमार्फत सञ्चालन गरिएको छ । संवाद कार्यक्रम गोरुसिगेंमा रहेको रेडियो मेरो साथि एफ.एम ९२.२ मेगाहर्ज र चन्द्रौटास्थित रेडियो भ्वाइस १०२.४ मेगाहर्जमार्फत सञ्चालन गरिएको छ ।
स्ट्रोम फाउण्डेसनको सहयोग र पालिकाको समन्वयमा रेडियोहरुको संयुक्त साझेदारीमा उत्पादित कार्यक्रम प्रशारण हुँदै आएको छ । दुवै रेडियोबाट हरेक दिन बेलुका ५ बजेदेखी ६ बजेसम्म किशोरकिशोरीसँग रेडियो संवाद भइरहेको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भण्डारीले जानकारी दिनुभयो । किशोरकिशोरीलाई जिवन उपयोगी सीप, कोरोना सचेतना र किशोरकिशोरी विचलित नहुने, व्यवहारमा सुधार आउने किसिमको कार्यक्रम सञ्चालन भइरहेको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाको वुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकामा किर्डाकको कार्यक्रम लागू गरिएको छ । बुद्धभुमीमा ३३ वटा संवाद केन्द्र रहेकाले गोरुसिगेंमा रहेको रेडियो मेरो साथिबाट कार्यक्रम सञ्चालन गरिएको छ । रेडियो मेरो साथिमा कार्यक्रमका फिल्ड सुपरभााइजर अमर वि.क, एमिनेटर रिमा थारु र रेडियोको म्यानेजर शारद केसीले कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
त्यस्तै शिवराज नगरपालिकामा रहेको रेडियो भ्वाइसमा कार्यक्रम अधिकृत श्री भण्डारी, फिल्डसुपरभाइजर शुशिला रायमाझी र रेडियो भ्वाइसकी सिता बेल्वासेले छलफलको माध्यमबाट कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । शिवराज नगरपालिकामा ४० संवाद केन्द्र रहेका छन् । कुल ७३ संवाद केन्द्रमध्ये १४ वटा किशोरहरुको रहेको छ ।
लकडाउनले प्रभावित भएका किशोरकिशोरी हाल नियमित कार्यक्रम सुनेपछि खुसी भएको बताउँछन् । कार्यक्रमको अन्तिम चरणमा किशोरकिशोरीले फोनमार्फत सहभागीता जनाउँदा कार्यक्रम सबैले सुनेको मुल्यांकन गर्न सजिलो भएको छ । त्यस्तै प्रत्येक संवाद केन्द्रको सहजकर्ताले रेडियो सुनेको तस्बिर पठाउनु पर्ने भएकाले झन प्रभावकारी भएको किर्डाक नेपालले जनाएको छ । किशोरकिशोरीहरु ५, ६ जना जम्म भएर सामाजिक दुरी कायम गरी घरमा बसेर रेडियो सुन्ने गरेका छन् ।