म्याग्दी । लकडाउनपछि शहरबाट घर फर्किएका युवाले श्रमदान गरेर सडक निर्माण गरेका छन् । रघुगंगा गाउँपालिका–२ भगवतीका युवाले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् ।
कोरोना भाइरसको जोखिम कम गर्न देशमा लकडाउन गरिएपछि काठमाडौं, पोखरा र बेनीलगायतका शहरबाट गाउँ फर्किएका युवाले बाटो खनेका हुन् । उनीहरुले बाक्लो बस्तीभित्र सवारी साधन आवतजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेको स्थानीयले बताएका छन् ।
स्थानीयबासी अर्जुन खत्रीको संयोजनमा दैनिक १० युवाले सडकमा श्रमदान गरेका थिए । सडकबाट ५० घरधुरी लाभान्वित भएका छन् । सो वडाका वडाध्यक्ष रिमबहादुर कटुवालले युवालाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो ।
म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाले स्थानीय तहले बजेट विनियोजन गरेकाे सडक, खानेपानी, भवनलगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् । बेनीमा बस्दै आएका बेनी–१० पात्लेखेतका धनबहादुर रोकाले लकडाउनपछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपानेबाट धैरेनीटोल जोड्ने सडक निर्माण गरेका छन् ।
नेपानेबाट धैरेनीटोल जोड्ने सडक दुई किलोमिटर छ । सडक निर्माणबाट २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । बेनी नगरपालिकाले चार लाख विनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले एक लाख बराबरको श्रमदान गरेका थिए ।
लकडाउनकै बीच अन्नपूर्ण गाउपालिका–५ शिखको तल्लो गाउँबाट घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीयस्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिनुभयो । १५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले आठ लाख २५ हजार विनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगदसमेत परिचालन भएको वडाध्यक्ष दिनेश तिलीजाले बताउनुभयो । सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका छन् ।