काठमाडौं । विभिन्न विषय र विधाका पाँच पुस्तक कृतिको संयुक्त लोकार्पण गरिएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्धारा प्रकाशित कृतिहरुको शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित एक समारोहकाबीच वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको हो ।
एकसाथ लोकार्पण गरिएका पुस्तकमा डा सोमप्रसाद खतिवडाको नेपाली संस्कृति विश्वकोष,डा गणेश क्षेत्रको भारतको नेपाल नीति एक शल्यक्रिया,डा कपिल लामिछानेको बाल उपन्यास अप्पु डट कम,प्राज्ञ गोपीरमण उपाध्यायद्धारा अनुवादित विश्व प्रसिद्ध बाल कथा संग्रह र दीपेन्द्र दोङ तामाङको सम्पादन रहेको प्रेमिल आधुनिक कथा संग्रह छन् ।कार्यक्रममा जनता नेटवर्कका अध्यक्ष डा विजयकुमार पौडेलले पठन संस्कृतिको विकास गर्दै समाज रुपान्तरण गर्ने उदेश्यले जनता प्रकाशनले विभिन्न असल पुस्तकहरुको प्रकाशन गर्दै आएको बताउनुभयो ।
यस्तै वरिष्ठ संस्कृतिविद जोशीले विभिन्न कला,संस्कृतिको धनी देश मुलुकमा संस्कृतिकोषको अभाव रहदै आएको धारणा राख्नुभयो । यस्तो अवस्थामा जनता प्रसारण तथा प्रकाशनले नेपाली संस्कृति विश्वकोष नै प्रकाशन गरेर अभावको पूर्ति गर्ने काम मात्र नभई नेपाली संस्कृतिप्रेमीहरुमाथि गुण लगाएको बताउनुभयो ।
समारोहमा १७ कथाकारहरुको संयुक्त कथा संग्रह प्रेमिलका कथाकारहरुलाई लेखकस्व रकम समेत वितरण गरिएको थियो । संग्रहमा डा विजयकुमार पौडेल,हरिमाया भेटवाल,सुविन भट्टराई,आश्विनी कोईराला,निरुपा प्रसुन,विना थिङ,प्रदीपकुमार चौधरी,अरुणदेव जोशी,मणि लोहनी,अनुपम रोशी,निरु त्रिपाठी देवललिता,रामकुमार एलन,सानु शर्मा,स्वप्निल नीरव,रजित ओझा,अशेष घिमिरे र दीपेन्द्र दोङ तामाङका कथाहरु संग्रहित छन् ।
लोकार्पण समारोहको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।