काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्थायी समिति बैठक अन्योलमा पारेर सदस्यहरुलाई आ-आफ्नो पक्षमा तान्ने प्रयत्न भइरहेको छ । आज (बिहीबार) लागि तोकिएको बैठक स्थगित भएपछि शीर्ष नेताहरु नै यस्तो खेलमा लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र अध्यादेशलाई लिएर नेकपामा पछिल्लो समय नेतृत्वबीच विवाद छ । त्यसैलाई आधार बनाएर सरकार परिवर्तनको खेल समेत हुन थालेपछि गएको बुधबार बसेको सचिवालय बैठकले समस्या समाधान गर्न वैशाख २५ गते स्थायी समिति बोलाउने निर्णय गरेको हो । स्थायी समिति बैठकको एजेण्डा तय गर्न बुधबार फेरि सचिवालय बैठक डाकिएको थियो । तर बुधबारको सचिवालय बैठकले स्थायी समितिको एजेण्डा तयार पार्न सकेन । सचिवालयमा स्थायी समिति बैठकको एजेण्डा नै प्रवेश भएन । सचिवालय बस्नासाथ प्रधानमन्त्री ओलीले संक्षित रूपमा आफ्नो भनाई राखेर बैठकबाट बाहिरिएपछि बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अन्योलमा परेको हो ।
प्रधानमन्त्री ओली ‘मुलुकमा कोरोना भाइरस संक्रमण कसरी रोकथाम तथा नियन्त्रण गर्ने ? भन्ने अवस्था छ, बजेटको तयारी गर्नुपर्ने बेला छ, त्यसकारण अहिलेलाई स्थायी समिति नराखौँ, आज म अलि थाकेको छु म हिडेँ तपाईहरु छलफल गर्नुस्’ भन्दै बैठकबाट बाहिरिनु भएको थियो । प्रधानमन्त्री बैठकबाट हिंडेपछि सचिवालयका अन्य नेताहरुले स्थायी समितिको एजेण्डा तयार पार्ने जिम्मा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नै दिएका छन् । तर अध्यक्षद्वय ओली र दाहालबीच त्यसपछि स्थायी समिति बैठकको एजेण्डाबारे कुनै छलफल नै भएको छैन ।
नेकपाको सचिवालय मातहतका अन्य कमिटीमा आवद्ध नेता तथा कार्यकर्ता पार्टी नेतृत्वमा उत्पन्न विवाद छिट्टै अन्त्य होस्, र पार्टी एक ढिक्का भएर अगाडि बढोस् भन्ने अपेक्षा गरिरहेका छन् । नेता तथा कार्यकर्ताको यो अपेक्षा कार्यान्वयनको एक मात्र वैधानिक बाटो स्थायी समिति बैठक हो । तर शीर्ष नेताहरुले स्थायी समितिको बैठक अड्काएर कार्यकर्ताको चाहनामाथी तुषारापात गरिरहेका छन् । तय भइसकेको बैठक अलपत्र पारेर शीर्ष नेताहरु यतिखेर स्थायी समिति सदस्यहरुलाई आ-आफ्नो पक्षमा तान्न सक्रिय भइरहेका छन् । बालुवाटार, खुमलटार र भैसैपाटीमा छुट्टाछुट्टै बैठक भइरहेको छ ।
एमाले र माओवादीबीचको एकीकरणपछि नेकपा घोषणा भएको २ वर्ष पुग्न लागेको छ । दुई पार्टीबीच एकता घोषणा भएको ११ दिनपछि नेकपाले २०७५ जेठ १६ गते ४५ सदस्यीय स्यायी समिति बनाएको हो । नेकपाको स्थायी समितिमा एमाले पक्षका २६ र माओवादी पक्षका १९ नेता छन् । पार्टी विधानमा स्थायी समितिमा दुई तिहाई महिला हुने उल्लेख छ । तर स्थायी समितिमा अहिले अष्टलक्षमी शाक्य र पम्फा भुसाल मात्र हुनुहुन्छ ।
नेकपाको विधानमा ३/३ महिनामा स्थायी समिति बैठक गर्ने उल्लेख छ । त्यसबाहेक स्थायी समितिका २५ प्रतिशत सदस्यले चाहे पनि बैठक बस्न सकिने उल्लेख छ । तर नेकपाको विधान अनुसार अहिलेसम्म स्थायी समितिको बैठक प्रयाप्त रुपमा भएको छैन । स्थायी समिति बैठक अहिलेसम्म सदस्यहरुको शपथसहित ३ पटक मात्र बसेको छ । एकतापछि बनेको प्रदेश, जिल्ला र विभिन्न जनवर्गीय संगठन कमिटी अनुमोदन गर्न दोस्रो पटक स्थायी समितिकाे बैठक बस्यो । त्यसपछि अमेरिकी मिलिनियम च्म्यालेन्ज (एमसीसी) बारे छलफल गर्न मंसिर अन्तिम साता तेस्रो पटक स्थायी समिति बैठक बोलाइएको हो । नेकपामा सचिवालयले गरेको निर्णय स्थायी समितिले अनुमोदन गर्नुपर्ने प्रावधान छ । पार्टीमा स्थायी समितिको भूमिका महत्वपूर्ण छ । स्थायी समिति महत्वपूर्ण भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गर्दै आएको छ ।