काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड -१९) भाइरस रोकथाम तथा नियन्त्रणमा चिनियाँ अनुभव महत्वपूर्ण देखिएको बताउनुभएको छ । मन्त्री ढकालले विश्वका लागि ठूलो चुनौति रहेको कोभिड संक्रमण नियन्त्रणमा चिनियाँ अनुभव महत्वपूर्ण निधि साबित भएको बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया ग्रुपले आयोजना गरेको नेपाल - चीन स्वास्थ्य विशेषज्ञ भर्चुअल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताउनुभएकाे हाे । महामारी नियन्त्रणमा चिनियाँ अनुभव समग्र विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास व्यक्त गर्नुभएकाे छ ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले कोभिड -१९ को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताउनुभयो । उहाँले पहाड र नदीले जोडिएको नेपाल र चीनले महामारीको सामना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुवै देश र जनताबीचको मित्रता प्रतिविम्बित भएको स्पष्ट पार्नुभयाे । महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेका कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकारात्मक नतिजा देखिएको राजदूत हौ को भनाइ छ ।
नेपालका तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकसँग कोभिडसँग सम्बन्धित विभिन्न जिज्ञाशा राख्नुभयो । वीपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. लिउलिउ, चीनबाट डा. चाङ्गसिनल्याङ्ग, डा. याङ्गनान, डा. वाङ्ग फै लगायतले कोभिडको उपचार र महामारी नियन्त्रणमा प्राप्त गरेको अनुभव एवम् नेपाली विज्ञबाट राखिएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
चाइना मिडिया ग्रुप अन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशन लगायतका चिनियाँ सञ्चार माध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।