काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीति शुद्धिकरणको लागि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री भट्टराई शुक्रबार संसदमा सम्बोधन गर्दै पछिल्लो कार्यले सरकार सर्वत्र आलोचित भएको उल्लेख गर्दे प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिनुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराईले लोकतन्त्र र कानुन विरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गर्नुभयो । लोकतन्त्रको सुनिश्चिता गर्दे मुलुकलाई राजनीतिको सही बाटोमा हिडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उहाँको छ । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै भट्टराईले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।‘तपाई जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुदा तपाईले आफै माथि पनि अन्याय भएको छ । तपाई रोगले जिर्ण भएको शरिरलाई तपाईले आराम दिनुपर्छ’ उहाँले भन्नुभयो, ‘र यो लोकतन्त्रलाई बचाएर र आफ्नै छविलाई पनि बचाएर अगाडि बढाउनका लागि निम्ति तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ ।’कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रित हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उहाँले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औल्याउनुभयो ।‘हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संवैधानिक अंगहरु कब्जा गरेर आफ्नो मनोखुसीले समय संबैधानिक अंगमा नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ संकेत होइन’ उहाँले भन्नुभयो ।अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै भट्टराईले फिर्ता भइहाल्यो भनेर छोड्न नहुने बताउनुभयो । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको उहाँको भनाई छ । लकडाउनको समयमा काठमाण्डौ देखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाण्डौमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उहाँले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गर्नुभयो ।पूर्व प्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उहाँले सरकारबाट सुरक्षा निकायहरु प्नि आतंकित बनेको दाबी गर्नुभयो । ‘जो पीडित छ तीनै माथि पनि मुद्धा लगाइदिने ?’ उहाँले भन्ुभयो, ‘अनि प्रत्यक्ष परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौ । तपाईले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र ? यही हो हाम्रो समाजवाद ?’सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रित कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छवि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिनुभयो ।‘निर्वाचित सरकारको छवि राम्रो छैन । हामीले बोलेको कुरा अहिले कसैले पनि विश्वास गर्दैनन्’ उहाँले भन्नुभयो, ‘राजनीतिज्ञ, सांसद आदि भनेको सबै भ्रष्ट, गैहजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको एउटा बिम्ब बनेको छ । त्यो अत्यन्तै खतरनाक छ ।’
पूर्व प्रधानमन्त्री भट्टराई अहिलेको अवस्थामा सरकारले सबै सुझाव सुन्नुपर्ने बताउनुभयो । हामीले त सुझाव दिने मात्र हो, लिने नलिने सरकरको कुरा हो’ उहाँले भन्नुभयो, तिर्खाएको भेडालाई खोलामा लग्ने मात्र हो, पानी मुखमै हालिदिन सकिन्न ।’
नेता भट्टराईले शुक्रबार काेराेनाभाइरस संक्रमणबाट जोगिन लकडाउन बाहेक अन्य कार्य हुन नसकेको बताउनुभयो । ‘हुन त मुलुकमा अहिलेसम्म कोरोनाबाट कसैले पनि जीवन गुमाउनु परेको छैन, संक्रमणबाट जोखिम मुलुकमा लडाउन भइरहेको छ’ उहाँले भन्नुभयो, ‘लकडाउन विश्वको प्रायः सबै मुलुकमा भइरहेको छ, त्यो हामी कहाँ पनि भएको छ । यसलाई अन्यथा लिनु हुँदैन ।’
भट्टराईले लकडाउनले मात्र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण नहुने प्रष्ट्याउनु भयो । ‘कोरोनाबाट जोगिन लकडाउन भइरहेको छ, ठिकै होला जस्तो लाग्छ’ , सरकारलाई झन् आफूले गरेको काम बेठिक लाग्ने कुरा भएन । सरकारलाई सबै ठिक गरेको छु जस्तो लाग्छ’ उहाँले भन्नुभयो, ‘तर गहिरिएर हेर्ने हो भने सबैतिर ठिक भइसकेका छैन । आफ्नै ब्रम्हलाई सोध्याैँ भने ठिकठाक छैन ।’