काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताउनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गर्नुभएको हो । उहाँले ‘सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताउनुभयो ।
‘सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता खालका कामहरु हुनु हुदैन’ उहाँले भन्नुभयो, ‘तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ ।’
नेकपा संसदीय दलका उप नेता नेम्वाङले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी गर्नुभयो । ‘यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस्’ उहाँले भन्नुभयो, ‘देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् । यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ ।’
नेता नेम्वाङले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपूर्ण अवस्थामा रहेकाले समस्या समया समाधान गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।