सुखिलाल चौधरी उदयपुर । शनिबार एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा पतिपत्नीलाई नै कोरोना देखिने तीन परिवार पुगेको छ । शनिबार कोरोना संक्रमण देखिएकी महिलाका पति कोरोनाबाट संक्रमित भएर विराटनगरको कोशी विषेश अस्पतालमा उपचार भइरहेको छ । उनका पति गत चैतको पहिलो साता भारतको बैंगलोरबाट जोगवनी–विराटनगर हुँदै भुल्के आएका थिए ।
उनीहरुकी एक छोरी एक महिनाअघि मात्रै भारतको ठाडी लौकहामा विवाह भएर गएकी छिन् । उनीहरुकी बुहारी पनि लकडाउन अघि नै बच्चा जन्माउन सिरहा माइत गएकी थिइन् । छोरो वैदेशिक रोजगारको शिलशिलामा बाहिर छन् । उनीहरुको परिवारमा अहिले गाईबाख्रा चराउनेको कुरा छोडाैँ घरको दैलोसमेत खोलीदिने मानिस छैनन् । उनीहरुको घरमा ताला लागेको छ । ती संक्रमित पुरुष भारतमै संक्रमित भए वा नेपाल आएपछि भए भन्ने खुल्न सकेको छैन् ।
यस्तै माक्स बनाउने पतिपत्नी पनि संक्रमित छन् । पत्नी अस्पतालबाट डिस्चार्ज भएर त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा छिन् । पति अहिले पनि अस्पतालमा उपचाररत छन् । उनीहरु मस्जिदमा संक्रमित भएका हुन कि भारतको बैंगलौरबाट आएका व्यक्तिबाट संक्रमित भएका हुन वा भारतको युपीमा उर्दु पढ्ने विद्यार्थीबाट संक्रमित भएका हुन् खुल्न सकेको छैन ।
यस्तै वैशाख ९ गते नै गाईघाट बजारमा जुक्ताचप्पल व्यवसायी पतिपत्नी नै संक्रमित हनुको साथै १८ वर्षीय छोरा पनि संक्रमित भएका थिए । छोरा कोशी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएपनि ती पतिपन्ती भने उपचाररत छन् ।
जुत्ताचप्पल व्यवसायीका ६५ वर्षीया सासु, ४१ वर्षीय जेठान, १८ वर्षीय भदा अर्थात युपीमा उर्दु पढ्ने विद्यार्थी र अर्का १८ वर्षीय भदैनी पनि संक्रमित भएका छन् । उनीहरु सबै एकै परिवारका हुन् । संक्रमितमध्ये छोरा र उर्दु पढ्ने भदा शुक्रबारै अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकस्थित क्वारेन्टाइनमा छन् । जुत्ता चप्पल व्यवसायी लकडाउनमा मात्रै भुल्के गएका थिए ।
अर्का संक्रमित ४५ वर्षीय महिला सप्तरी सुरुङ्गा नगरपालिका-११ अरहा भजोखाका एक संक्रमितकी आमा हन् । उनको छोरा शुक्रबार मात्रै कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा छन् । उनीहरु चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा विवाहमा आएपछि चैत्र १६ गतेबाट भुल्केमा लकडाउनमा फसेका हुन् ।
दुबई हुँदै नेपाल आएका अर्का संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन् । उनी बुवाको मृत्यु संस्कारका लागि दुबईबाट घर आएका थिए । उनी फागुन ११ गते घर आईपुगेका थिए ।
अर्का स्थानीय मदरसाका शिक्षक तथा पुजारी पनि संक्रमित छन् । पुजारीसहित ५ भारतीय र २ नेपाली जमातीसहित १८ जनाको कोशी कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ । आइताबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार उदयपुरमा संक्रमितको संख्या ३२ पुगेको छ ।