काठमाडौं । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले मुलुकमा उत्पादन वृद्धिको लागि कृषि क्षेत्रको बजेट बढाउनु पर्ने बताउनु भएको छ ।
पूर्व मन्त्री शर्माले प्रतिनिधिसभामा सोमबार बजेटको सिद्धान्त तथा प्राथमिकताबारेकाे छलफलमा कुल बजेटको कम्तीमा १० प्रतिशत कृषि क्षेत्रको लागि छुट्याइनु पर्ने सुझाव दिनुभएको हाे।
‘मुलुकमा उत्पादन बढाउन, कृषिमा आत्मनिर्भर बनाउन, एक गाउँ एक उत्पादनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । सरकारले कृषिको लागि दिँदै आएको अनुदान सदुपयोग हुन सकिरहेको छैन । अनुदान टाठाबाठाले मात्र पाएका छन् । कृषिको नाममा अुदान लिएर अन्य काम गर्ने प्रवृति देखिएको छ । त्यो प्रवृति अन्त्य गर्न अनुदान किसानको घर/घरमै गएर हातहातमै दिनुपर्छ । यदि त्यसो गर्ने हो भने मुलुकमा रोजगारी समेत सृजना हुन्छ’ उहाँले भन्नुभयो कम्तीमा पनि कृषि क्षेत्रमा १० प्रतिशत लगानी गरी कृषिमा आत्मनिर्भर हुने अभियानतर्फ अगाडि बढ्नुपर्छ । किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पुर्याउने कुरा प्राथमिकता दिनुपर्ने र प्राविधिक सेवा विस्तार गर्दै सहुलियत ऋण किसानको हात हातमा किसानको बारी बारीमा पुर्याउनुपर्छ । ठूलो उद्योगपतिहरुले कृषिको नाममा ऋण लिएर अन्यत्र लगानी गरिरहेको अवस्थालाई रोक्न पनि किसानहरुको हात हातमा ऋण दिने व्यवस्था हुनुपर्छ ।’ कृषि उपज राज्यले किन्ने सुनिश्चितता भएमात्रै कृषि क्षेत्रको विकास हुने र यसबाट आन्तरिक रोजगारी वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
पूर्व मन्त्री शर्माले कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउनले कृषि क्षेत्र बढी प्रभावित भएको उल्लेख गर्नुभयो । कृषि क्षेत्रमा लकडाउनको कारण भएको नोक्सानीको क्षतिपूर्ति लिनुपर्ने पनि उहाँले बताउनु भयो ।
‘लकडाउनको कारण किसानका तरकारी र अन्य उत्पादन खेतबारीमै कुहिएका छन्, दुध बेच्न नपाएर पोख्नु परेको छ’ उहाँले भन्नुभयो, ‘किसानहरु कुखुरा तथा अण्डा माटोमा गाड्न बाध्य छन् । मासु र अण्डा कुहिएको अवस्था छ । किसानलाई त्यसको क्षतिपूर्ति दिनुपर्छ । पोखिएको दुध, कुहिएको मासु र अण्डा राज्यले किन्नुपर्छ । यदि राज्यले त्यसो नगर्ने हाे भने किसानलाई मर्का पर्नेछ ।’
उहाँले रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि ऋम सहकारीको अवधारणा अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ? श्रमिकहरुलाई कसरी परिचालित गर्ने ?’ उहाँले भन्नुभयो, ‘कम पूँजीले बढी उत्पादन कसरी गर्ने ? कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ? यसका लागि श्रम सहकारी निर्माण गर्नुपर्छ । त्यो मार्फत भौतिक पूर्वाधार र उत्पादन बढाउनुपर्छ ।’नेता शर्माले रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारी मार्फत १० दिनमा १० बेडको अस्पताल निर्माण गरिएको प्रशंग उल्लेख गर्नुभयो । ‘१० दिनमा ७ सय ५३ स्थानीय तहमा ७ हजार ५ सय ३० बेडको अस्पताल निर्माण गर्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘एक महिनामा एक वडामा १ किलोमिटर बाटो निर्माण ग¥यौँ भने एक वर्षमा १२ किलोमिटर नहर वा बाटो हामीले बनाउन सक्छौँ । यसरी ६ हजार ७ सय ४३ वटा वडामा १ किलोमिटरका दरले निर्माण गर्दा १२ महिनामा ८० हजार ९ सय १६ किलोमिटर बाटो नर्माण गर्न सक्छौँ । यो अहिलेको नेपालको कुल सडक भन्दा बढी हो ।’शर्माले साना उद्योग मार्फत उत्पादन र स्वरोगजार बढाउन सकिने अवस्था रहेको र यसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरी श्रम सहकारीमा संगठित गर्न गर्नुपर्ने बताउनुभयो । उत्पादन र सहकारीका लागि राज्यले सहयोग गर्नुपर्ने र त्यो अवसर अहिले प्राप्त भएको उहाँले बताउनुभयो ।