कास्की । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले 'गण्डकी कृषि' नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशभरीको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा सूचना तथा जानकारी कृषक, कृषि उद्यमी तथा व्यवसायीसम्म पुर्याउने उद्देश्यले मन्त्रालयले गण्डकी एप्स प्रयोगमा ल्याएको हो ।
प्रदेशअन्तर्गत रहेका कोल्ड स्टोर(चिस्यान केन्द्र), होमस्टे, नमूना कृषि फार्म, कृषि उद्योग, कृषि व्यवसाय, कृषिमा आबद्ध कार्यालय, नमूना गाउँका लागि प्राविधिक, बीउ उत्पादक र बजारको विवरण तथा सम्पर्क एप्समा छ ।
त्यसैगरी एप्समा कृषि प्रविधि, कृषिउपज आपूर्तिकर्ता, उपज खरिदकर्ताका बारेमा जानकारी राखिएको छ । कृषि प्रविधिअन्तर्गत तरकारी बाली, फलफूल बाली, कौसी खेती, प्राङ्गारिक खेती, च्याउ खेती र कफी खेतीको विधि, व्यवस्थापन र रोगबाट बचाउने विधिका बारेमा जानकारी समावेश छ । कृषि बीमासम्बन्धी जानकारीसमेत एप्सबाट प्राप्त गर्न सकिन्छ ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले कृषकको हातहातमा सूचना र जानकारी पुर्याउने लक्ष्यसहित एप्स प्रयोगमा ल्याइएको बताउनुभयो ।