रविन्द्र सिंह ठकुरीबाँके । लकडाउनकाे ४९ औँ दिन पनि नेपालगञ्जको आर्थिक गतिविधि अस्तव्यस्त अवस्थामा छ । कोरोना संक्रमण बढेका कारण उद्योग, व्यवसाय तथा कलकारखाना प्राय: ठप्प नै छन् । तर यही बीचमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरले भने बिरामी अफ्ठ्यारोमा परेकाे अवस्थालाई मध्यनजर गर्दै सोमबारदेखि ओ.पि.डी सेवा सुचारु गर्ने भएको छ ।
बिहान ९ देखि १ बजेसम्मका लागि निश्चित समयका लागि सेवा सुचारु गर्न लागिएको अस्पतालले जनाएकाे छ । अस्पताल प्रशासनका अनुसार बिरामीको चापलाई दृष्टिगत गर्दै सेवा विस्तारलाई थप खुकुलो बनाउँदै लगिने भएको हो । अस्पतालमा ओ.पि.डी सुचारु भएसँगै स्थानीय खुसी बनेका छन् । लामो समयसम्म ओ.पि.डी सेवा बन्द हुँदा बिरामीले दु:ख पाएको र अस्पतालले सेवा सुचारु गर्ने कदम चाल्नु सकारात्मक रहेको स्थानीय विरेन्द्र कुमार शाहले बताए ।
ओ.पि.डी शुरु गरिएसँगै अस्पतालमा चेकजाँचका लागि आउने बिरामीको संख्या बढेको छ । अस्पतालमा अब चेकजाँच गर्न आएका बिरामीलाई सामाजिक दुरी कायम गर्दै कोरोना परीक्षण गर्नसमेत सहज हुने बाँसगढी नगरपालिकाका राघव थारुले बताए ।
अस्पतालले स्थानियको समस्यालाई मध्यनजर गर्दै ओपिडि सेवा शुरु गरेको र बिहान ९ देखि १ बजेसम्म सेवा प्रवाहका लागि व्यवस्था मिलाइएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपनिर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालले तत्कालका लागि आवश्यक पर्ने औषधी व्यवस्था गर्नुका साथै सर्जरी, बालरोग, गाइनो र नाक, कान र घाँटीका बिरामीलाई सेवा दिन शुरु गरेको श्रेष्ठको भनाइ छ । हाल दैनिक ५० देखि ६० जना बिरामीको चेकजाँच गर्ने र बिस्तारै सेवा बढाउदै लैजाने श्रेष्ठले बताउनुभयो ।
‘अस्पतालले ओ.पि.डी सेवा खुला गरेसँगै अन्य बिरामीको पनि चाप बढ्दै गएको र यसरी सेवा सञ्चालन गर्दा कोभिडका बिरामी पनि आउन सक्ने भएकाले सजगता अपनाउन जरुरी छ’ श्रेष्ठले भन्नुभयो, ‘यसरी ओ.पि.डी शुरु गर्दै गर्दा बिरामीलाई सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउन पनि अनुरोध गरेका छौं ।’