काठमाडौं । जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडले आफ्ना सबै पत्रकार र कर्मचारीकाे बीमा गराएको छ । कम्पनी संस्थामा स्थायी भएका पत्रकार तथा कर्मचारीका लागि औषधि उपचार, दुर्घटना र कोरोनासम्बन्धी बीमा गराएको हो ।
जिल्ला संवाददतासहित सबै पत्रकार तथा कर्मचारीको लागि दुर्घटना र कोरोनासम्बन्धी बीमा गरिएको जनता प्रसारण तथा प्रकाशन लिमिटेडका कार्यकारी निर्देशक नारायण सुवेदीले बताउनुभयो ।
कोरोना भाइरसको महामारीले विश्वभर त्रास बढाइरहेका बेला बुधबार एक कार्यक्रमकाबीच जनता प्रसारण तथा प्रकाशन लिमिटेडले अजोड इन्स्योरेन्ससँग संस्थामा कार्यरत सबै कर्मचारी एवं संवाददाताको बीमा गर्ने कार्यको थालनी गरेको छ । बीमा सम्बन्धी सम्झौतापत्रमा जनताका कार्यकारी निर्देशक सुवेदी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बुधबार हस्ताक्षर गर्नुभएकाे छ । संस्थाले सबै स्थायी कर्मचारीका लागि औषधि उपचार, दुर्घटना र कोरोनासम्बन्धी बीमा गराएको हो ।
कम्पनीले मुख्यालयमा कार्यरत १ सय स्थायी पत्रकार तथा कर्मचारीसहित देशैभर २ सय जनताकर्मीको बीमा गर्ने जनाएको छ । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडमा कार्यरत सबैका लागि कोरोना सम्बन्धी बीमा, दुर्घटना र औषधि उपचार बीमा गराइएको बताउनुभयो । कोरोनाका लागि पिसिआर टेष्ट गरेर संक्रमण देखिएका सबैका लागि र स्वदेशमा रहेका व्यक्तिले माग दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सले हाल देशभर मुख्य कार्यालयसहित ३९ शाखा, एक संचयकोष ग्राहक सेवा केन्द्र, ३ वटा काउन्टरबाट सेवा दिइरहेको छ । कम्पनीले छिट्टै ३ शाखा विस्तार गर्ने जनाएको छ । कम्पनीले सम्पति, मोटर, इन्जिनियरिङ, सामुद्रिक, कृषि तथा पशुपंक्षी एवं विविध क्षेत्रमा सेवा दिंदै आएको छ ।
सम्झौता कार्यक्रममा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजयकुमार पौडेल, नायव महाप्रबन्धक माधव कार्की, कम्पनी सचिव विष्णु भट्टराई, प्रशासन प्रमुख शनद शाक्य, समाचार महाशाखा प्रमुख नारायण भण्डारी, अजोड इन्स्योरेन्सका वरिष्ठ प्रबन्धक लक्ष्मण पराजुली लगायतको उपस्थिति रहेको थियो ।