छवि चापागाँईपाँचथर । हिलिहाङ्ग गाउँपालिकामा फौजी किराको आतंक शुरु भएको छ । किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखा परेको हो । फौजी किराको प्रकोपका कारण गाउँपालिकाको ७ वटै वडा प्रभावित भएका छन् । पालिकाको भारपा, पञ्चमी, सुभाङ्ग, अमरपुरलगायतका क्षेत्र फौजी किराको उच्च जोखिममा छन् । किराको प्रकोपबाट मकै बारीमै मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
अमेरिकन मिचाह जातको फौजी किराले छोटो समयमा ठूलो क्षति पुर्याएपछि नियन्त्रणमा चुनौती देखिएको छ । बारीमा गोड्ने अवस्थाका मकै फौजीले मार्न थालेको हिलिहाङ्ग गाउँपालिका–३ का कृषक डिल्लराम चम्लागाइँले बताउनुभयो । जिल्लामा किसानले लगाएको मकै बालीमा खडेरी र फौजी किराको प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै गएको छ ।
किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ । यस्तै जिल्लाको सुख्खा क्षेत्र कुम्मायक र तुम्बेवा तथा फाल्गुनन्द गाउँपालिकाका किसानले लगाएको मकै बालीमा किराको यसअघि नै आतङ्क देखिएको छ । यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोपले मकै उत्पादनमा ठूलो क्षति पुर्याएको थियो ।
पालिकाको किरा नियन्त्रणमा सक्रियता
जिल्लमा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् । जिल्लाको हिलिहाङ्ग गाउँपालिकाले किरा नियन्त्रणका लागि सकृयता बढाएको छ । किसानले लगाएको मकै बालीमा किराको प्रकोप देखा पर्न थालेपछि पालिकाले किरा नियन्त्रणका लगि सक्रियता बढाएको हो ।
पालिकाले सबै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा विषादी तथा स्प्रे मेसिन वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत विक्रिम लिम्बुले बताउनुभयो । वडा नं ६ र ७ का किरा प्रभावित कृषकका लागि विषादी तथा स्प्रे मेसिन प्रदान गर्नका लागि सुर्योदय कृषक आइपिएन पाठशाला कृषक समूह जोरपोखरीसँग बुधबार सम्झौता भएको बताउनुभएको छ ।
यस्तै वडा नं १, २, ३ र ४ मा दोरुम्बा कृषि संकलन तथा बिक्रि केन्द्र शहकारी संस्था भालुचौकसँग सम्झौता भएको प्रमुख लिम्बुले बताउनुभएको छ । यस्तै वडा नं ५ का लागि पनि सम्झौतका लागि पहल भइरहेको लिम्बुले जानकारी दिनुभएको छ । जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाले पनि कृषकहरुलाई अनुदानमा विषादी तथा स्प्रे मेसिन वितरण गरिरहेका छन् ।