लोकेन्द्रप्रसाद जोशीदार्चुला । छिमेकी मुलुक भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र सशस्त्र प्रहरीले निगरानी गर्न थालेको छ । सशस्त्र प्रहरीले कालापानी नजिक छाङरुको गागामा ब्यारेक स्थापना गरेर निगरानी थालेको हो ।
छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएकाे छ । गएको मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णय अनुसार व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो ।
बीओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरु दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।
वीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारी, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु गएका थिए ।
स्थानीयले छाङरुमा कित्ता नम्बर ३५ को १ सय १५ रोपनी ३ आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्रको बीओपी स्थापनाका लागि एक वर्षअघि दिइसकेका छन् । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । छाङरुमा भौतिक पूर्वाधार निर्माण भइनसकेकोले केही समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
गएको मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बीओपी राख्ने निर्णय गरेपनि हिमपात र लकडाउनका कारण पुर्वाधार निर्माणमा ढिलाइ भएको थियो । जेठ पहिलो साताभित्र सुरक्षा पोष्टका लागि पुर्वाधार निर्माणको टेण्डर गरिने सशस्त्र प्रहरी नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि तिकंरसम्म सडक र सीमामा बाह्रै महिना राज्यको सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ । सशस्त्रसंगै सेनाको हेलिकोप्टरमा सई हर्कसिह महताको नेतृत्वमा ९ जना नेपाल प्रहरीको टोली पनि छाङरु गएको छ ।