फाइल तस्बिर
काठमाडौं । आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे सघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ । कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ । कोभिड–१९ सक्र्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको ससद सचिवालयले जनाएकाे छ ।
नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन शुक्रबार संसदको तामझाम अरु बेला भन्दा बेग्लै छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने स्राेतले जनाएकाे छ । संवैधानिक प्रावधानअनुसार सरकारले आउँदो जेठ १५ गते आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि मन्त्रिपरिषद् र नेकपा सचिवालय बैठकनीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेको लागि बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय समेत नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।
पार्टीका शीर्ष नेतालाई नीति तथा कार्यक्रममा समावेश विषयमा जानकारी गराउन र परामर्श लिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले शुक्रबार बिहान सचिवालय बैठक बोलाउनु भएकाे हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालया नेताहरुले नीति तथा कार्यक्रमबारे करिब ३ घण्टा छलफल गरेका छन् ।