ताप्लेजुङ । आज जेठ ३ गते स्वर्गीय जननेता मदन भण्डारीलाई सम्झने दिन, अर्थात भण्डारीको २७ औं स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
चितवनको दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी जननेता भण्डारी र आश्रितको निधन भएको २७ वर्ष पूरा भइसक्दा पनि घटनाको कारण पत्ता लाग्न सकेको छैन । यद्यपि, उक्त दिनको सम्झनामा तत्कालीन नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते स्मृति दिवस मनाउँदै आएको थियो भने हाल एमाले र माओवादी केन्द्रबीच एकीकरण पछिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि दिवस मनाउँदै आएको छ ।
यसवर्ष भने विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण भण्डारी तथा आश्रित स्मृति दिवसका दिन शनिबार औपचारीक कार्यक्रम नहुने भएका छन् । जननेता भण्डारीको जन्म भएको जिल्ला ताप्लेजुङमा गएका वर्षमा स्मृति दिवसका दिन स्मृति सभा, चियापान जस्ता कार्यक्रम आयोजना हुने गरेकामा यो वर्ष कुनैपनि औपचारिक कार्यक्रम नहुने नेकपा जिल्ला कार्यालय सदस्य तथा प्रचार विभाग प्रमुख सुरज ओझाले जानकारी दिनुभयाे ।
यता जननेता भण्डारीको स्मृति दिवसमा औपचारिक तथा अनौपचारिक रुपमा उनलाई सम्झना गरेपनि भण्डारी जन्मिएको घर भने उपेक्षामा परेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको ठोट्नेमा रहेको भण्डारीको जन्मघर उपेक्षाका कारण हाल जीर्ण बन्दै गएको छ ।
भण्डारी जन्मिएको पूरानो घरको आवश्यक रेखदेख साथै संरक्षण नहुँदा घर-संरचना दिनदिनै जीर्ण बन्दै गएको हो । आज स्वर्गीय जननेता भण्डारीको श्रीमती विद्यादेवी भण्डारी देशकै सर्बोच्च ओहोदामा अर्थात राष्ट्रपति छिन् । अहिले झण्डै दुई तिहाइ मतका साथ कार्यकारी अधिकारसहित राज्यसत्ता पनि नेकपाले नै सञ्चालन गर्दै आएको छ । यस्तो अवस्था पनि भण्डारीको जन्मघरको संरक्षणमा आवश्यक ध्यान नगएको जस्तै देखिन्छ ।
घरको संरक्षण गरी संग्रहालय अर्थात विशेष स्थलको रुपमा विकास गर्ने योजना बन्दै गरेको भनेर बेलाबेलामा सुन्ने गरिए पनि हालसम्मको प्रगति शून्य छ । हाल नेकपाका केन्द्र हुँदै जिल्लास्तर सम्मका नेता तथा कार्यकर्ता र अन्य जोकोही भण्डारीको जन्म घरमा पुगेर तस्बिर खिचाउने र सामाजिक सञ्जालमा प्रशस्तै लगाउने गरेको पाइन्छ । धेरै चर्चा हुने गरे पनि खर (फुस) को छानो भएको जीर्ण घरको संरक्षण तथा यस ठाउँलाई विशेष स्थलको रुपमा विकास गर्नका लागि ठोस कार्य भएको देखिँदैन ।
उता चितवनको दासढुङ्गामा भण्डारी र आश्रित सवार जिप त्रिसुलीमा खसेर भएको घटना रहस्यमय भनिँदै आए पनि अहिलेसम्म यथार्थ पत्ता लाग्न सकेको छैन । घटनाको गहिरो छानबिन हुन नसकेको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको कुरा बेलाबेलामा बाहिरिने गरेको थियो । त्यसबेलाको दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएपनि जिप चालक अमर लामा जीवित थिए । पछि २०६० सालमा लामाको पनि हत्या भएपछि उक्त घटनाको यथार्थ पत्ता लगाउनलाई थप कठिन बनेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् । -प्रयास लिम्बु