काठमाडौं । जननेता मदन भण्डारी, नेपाल कन्युनिष्ट पार्टी (नेकपा)को मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादक । कार्लमाक्सको साम्यवादी दर्शनलाई पूँजीवादीहरुले आलोचना गरिरहेकै बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्दै जननेता भडारीले बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकलाका माहिँला छोराका रुपमा जन्मनुभएकाे हाे उहाँ । भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका बहुचर्चित व्यक्तित्व मानिनुहुन्छ । बहुदलीय जनवादको प्रयोगसम्बन्धी जननेता भण्डारीले दिनुभएको भाषणका बारेमा पश्चिमी सञ्चारमाध्यमले नेपालमा मार्क्स जीवितै छन् भन्ने टिप्पणी समेत गरेका थिए । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवाद–लेनिवादी) र नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवाद) बीच पार्टी एकता गरी नेकपा (एमाले) गठन गर्न नेता भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयाे ।
तत्पश्चात जनताकाे बहुदलीय जनवादको नारा लिएर चुनावमा गएको नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार गठन गरी नेपाली कम्युनिष्ट आन्दोलनलाई सफताको बाटोमा अघि बढाएको मानिन्छ । आज पनि नेपाल कम्युनिष्ट पार्टी, नेकपा जनताको बहुदलीय जनवादकै सिद्धान्तमा अडिग छ ।
नेपाली राजनीतिको आशा र चर्चाको शिखरमै रहेका बेला २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमाले)का तत्कालीन महासचिव जननेता भण्डारीको र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । जननेता भण्डारी र आश्रितको निधनको कारण भने अझै रहस्यकै गर्भमा रहेको छ ।
जननेता भण्डारीको जीवनमा ढुंगैढुंगाको संयोग छ । उहाँ ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिनुभयो । उहाँ जन्मिदाको क्षण पनि अनौठो छ । भण्डारीकी आमाले ढिकी कुटिरहेकै बेला उहाँ ढुगाको ओखल नजिकै जन्मिनुभएको स्थानीय बूढापाकाहरु बताउँछन् । ताप्लेजुङ पहाडी जिल्ला । ढुंगै ढुंगाको पाखापखेरो । उहाँ त्यही ढुंग्यान पखेरोमा हुर्किनुभयो । भण्डारी पढाइसगै राजनीतिमा सक्रिय हुन थाल्नुभयो । अध्ययन र राजनीतिको सिलसिलामा उहाँ भारतको विभिन्न ठाउँमा समेत बस्नुभयो । राजनीतिक जिम्मेवारीसँगै उहाँ काठमाडौं आउनुभयो । काठमाडौं आएपछि उहाँ शुरुमा काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा बस्नुभयो । जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद पार्टीभित्र सहजै स्वीकार भएको थिएन । त्यसलाई पार्टीको सिद्धान्त बनाउन ठूलै संघर्ष गर्नुपरेको थियो । उहाँको तार्किक शैली र चट्टानी अडानकै कारण जनताको बहुदलीय जनवाद एमालेको सिद्धान्त बन्न पुगेको हो ।
४१ वर्षको उमेरमै विभिन्न आरोह–अवरोह पारगर्दै राजनीतिमा अन्तर्राष्टियस्तरसम्म जननेता भण्डारीको निधन पनि अन्तत ढुंगासँग सम्बन्धित ठाउँमा नै हुनपुग्यो । चितवनको दासढुंगाले उहाँको देहान्त भयो । भनिन्छ– ढुंगाको काप फोरर पनि उम्रिन्छ पिपल । जननेता भण्डारीको जीवन यस्तै सावित भएको छ । जननेता भण्डारीले प्रतिपादन गर्नृुभएको जनताकाे बहुदलीय जनवाद राजनीतिमा विभिन्न ढुंगा छिचोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मार्गनिर्देशन बन्न पुगेको छ । कम्युनिष्ट आन्दोलनमा उहाँले ल्याउनु भएकाे यो अवधारणा युगौंयुगसम्म रहोस्–चट्टान जस्तै ।
https://youtu.be/KmYb5ab9qqg
यो पनि पढ्नुस्https://45.77.241.73/2020/05/188572