लोकेन्द्रप्रसाद जोशीदार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक नजिक सशस्त्र प्रहरीले नियमित सीमा गस्ती गर्न थालेको छ । सरकारले बुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरेदेखि सीमा क्षेत्रमा गस्ती थालिएको सशस्त्र प्रहरी नम्बर ५० गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो ।
गस्ती टोलीले अतिक्रमित भूमिको बस्तुस्थितिबारे जानकारी लिनुका साथै सीमा निगरानी गरिरहेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक हातहतियार सहित गस्ती थालेपछि सुरक्षा महसुस भएको स्थानीय सुदा बोहराले बताउनुभयो । भारतले कालापानी क्षेत्रमा ३ सय ७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर ५८ वर्षदेखि सुरक्षा फौज तैनाथ गरेको छ ।
विगतमा सीमा क्षेत्र सुरक्षाविहीन हुँदा भारतीय सुरक्षाकर्मी हातहतियारसहित नेपाली भूमिमा गस्ती गर्दै आएकोमा सशस्त्र प्रहरीको उपस्थितिले देशमा सरकार भएको अनुभव गर्न पाएको स्थानीय जितसिह बोहराले बताउनुभयो । अहिले छाङरुमा २५ जना सशस्त्र प्रहरी, सितापुलमा ९ जना र तिकंरमा ९ जना गरी १८ जना नेपाल प्रहरी खटिएका छन् ।
सीमामा सशस्त्र खटिएपछि स्थानीय हर्षितसरकारले अतिक्रमित नेपाली भूमि कालापानी नजिकै छाङरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेपछि स्थानीयबासी हर्षित भएका छन् । मंसिरदेखि वैशाखसम्म ६ महिना मानवविहीन हुने व्याँस गाउँपालिका–१ छाङरु र तिकंर बस्तीमा बाह्रै महिना प्रहरी बस्ने गरी बीओपी स्थापना भएपछि देशमा सुरक्षा र सरकार भएको अनुभूति गर्न पाएको स्थानीयले बताएका छन् ।
‘सरकारले ढिलै भएपनि सीमामा सुरक्षाकर्मी पठाउदा खुसी लागेको छ , सीमा अतिक्रमण रोक्न छाङरुमा बसेको सशस्त्र प्रहरीले अब कालापानी सम्म नियमित गस्ती गर्नुपर्छ’ स्थानीय जितसिह बोहराले भन्नुभयो, ‘राज्यले हिमपातको समयममा प्रहरी सीमामै बस्न सक्नेगरी तत्काल प्रयाप्त पुर्वाधार, जनशक्ति र बन्दोबस्तीको व्यवस्थापन गर्नु आवश्यक छ । साथै उच्चस्तरीय कुटनीतिक छलफलमार्फत अतिक्रमित भूमि फिर्ता गरेर कालापानीमा नेपाली सेना राख्नुपर्ने उहाँको भनाइ छ ।’
सीमामा राज्यको उपस्थिति गराउनु ऐतिहासिक काम भएपनि राज्यले सीमावासीको पीडा बुझ्नुपर्ने स्थानीय नगेन्द्र तिकंरीको भनाइ छ । गाउँसम्म जाने बाटो नभएर खलंगामै बसेका व्याँसवासीलाई हेलिकोप्टरमार्फत भएपनि तत्काल गाउँ पठाउनुपर्ने र तिंकर जोड्ने गोरेठो बाटो र सडक प्रार्थमिकताका साथ निर्माण गर्नुपर्ने उहाँको माग छ । कालापानी नजिकैको कौवा क्षेत्रबाट चोरी सिकारी, काठ तस्करी र अखेटोपहार ओसारपसार हुने गरेकाले कालापानी वा कौवा क्षेत्रमा नेपाली सेना खटाउनुपर्ने माग स्थानीयले राखेका छन् ।
सीमा क्षेत्रमा राज्यको उपस्थिति र जनताको सुरक्षा अनुभूति हुने गरी भएको ऐतिहासिक दुरगामी कामले सरकार, जनता र प्रशासकलाई समेत खुशी अनुभूति भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
हेलिकोप्टरमार्फत सुरक्षाकर्मी छाङरु गएपछि पैदल बाटो नहुदा स्थानीयले गाउँ जान पाएका छैनन् । ६ महिना व्याँस र ६ महिना खलंगा बस्दै आएका सौँका समुदाय गत वर्षसम्म भारतीय प्रशासनको अनुमति लिएर वैशाख पहिलो साता भारतबाटै गाउँ जाने गरेका थिए । यो वर्ष कुञ्चा सर्ने समयमा लकडाउन र सीमा बन्द भएपछि गाउँ जान समस्या भएको छ ।
जेठसम्म सदरमुकामै बस्दा गाउँमा खेतीबाली लगाउने समय घर्कीएर खेत बाझैँ राख्नुपर्ने अवस्था आएको, हिउँदे बाली खेतमै कुहिएको र सदरमुकाममा पशुचौपाया पाल्न समेत समस्या भएको व्याँसबासीको गुनासो छ । बुधबार प्रहरी पुर्याउन आएको हेलिकोप्टरमार्फत आफूहरुलाई समेत गाउँ फर्काउन माग गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
पञ्चायतकालमा निर्माण भएको स्वदेशतर्फको बाटो दुई दशक पहिले भत्कीएपनि उचित मर्मतसम्भार भएको छैन । व्याँस जाने बाटो बनाउने नाममा अगुवाहरुले वर्षेनी लाखौँ रुपैँया भ्रष्टाचार गरेर पेट भर्ने काम गरेको स्थानीयको आरोप छ । अहिले नेपालतिरको दुम्लीङदेखि तिकंरसम्मको बाटो अवरुद्ध रहेको छ । गाउँ जाने बाटो नहुदा व्याँस गाउँपालिका–१ छाङरुका ११० र तिकंरका ६५ परिवार खलंगामै बसेका छन् ।