फाइल तस्बिर
काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको आरोप सांसदहरुले लगाएका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि अधिकांश मुलुकले लकडाउन गरेपछि समस्यामा परेका नेपालीहरुलाई ठोस योजनासहित नेपाल ल्याउन सरकारले कुनै पहल नगरेको आरोप सांसदले लगाएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरुले सरकारले कोरोना नियन्त्रणका लागि कोष खडा गर्ने तर खर्च नगर्ने तथा विदेशबाट आउन चाहेका नेपालीहरुलाई ल्याउनै हुन्न भन्ने किसिमले व्यवहार गरेको बताएका हुन् । उनीहरुले कोषमा जम्मा भएको रकम खर्च गरी समस्यामा परेका सबैको व्यवस्थापन गर्न समेत माग गरेका छन् । भारततर्फको सीमासम्म मानिसहरु आफै आइसकेको अवस्थामा सरकारले स्वास्थ्य परीक्षण र उपयुक्त क्वारेनटाइनको व्यवस्था गरी नेपाल ल्याउनुपर्ने माग सांसदहरुले गरेका छन् ।
भारतीय सिमामा आएर नेपाल भित्र प्रवेश गर्न नपाएका सबै नेपालीलाई परीक्षण गरी नेपाल भित्र्याउनु पर्ने सांसद प्रकाशमान सिंहले बताउनुभयो । उहाँले कोरोनाभाइरस नियन्त्रण एवं रोकथामका लागि काम गर्न स्थानीय सरकारलाई अधिकार र बजेट दुवै दिनुपर्ने बताउनुभयो । संघीय सरकारले निर्देशन दिने तर बजेट नदिएको प्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारले विपद् व्यवस्थापन कोष खडा गरेर तयार गरेको कोषको रकम खर्च नगरेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय सरकारहरुको नेतृत्व गरेकाहरुको अन्तरवार्ता सुन्दाखेरी के भइरहेको छ भन्दाखेरी केन्द्रबाट निर्देशन आउँछ एक पैसा दिएको छैन हामीले प्रथम चरणको राहतमा करोडौं बाँढिसक्यौं अब हामीले के गर्ने ? सरकारले त गर्नुपर्यो नी त । यो कोष पनि त छ त्यो कोष केका लागि हो ?’ उहाँले विदेशमा समस्यामा परेर बसेका नेपालीहरु रुदै अन्तर्वार्ता दिएको देख्दा समेत सरकारले नसुनेको भन्दै तत्काल सबैलाई नेपाल ल्याई व्यवस्थित गर्नुपर्ने बतउनुभयो ।
सांसद पुष्पा भुसालले चुनावमा भोट हाल्नका लागि विदेशमा रहेका नेपालीहरुलाई देश फर्कन आह्वान गर्न सक्ने सरकारले अहिले विपद्को अवस्थामा उतै बस भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजोको दिनमा चुनावमा लड्दै जाँदाखेरी विदेशमा भएका मतदातालाई ल्याउनको लागि हामीले अभिलेखहरु राख्ने, विदेशबाट आउनलाई पत्र पठाउने, भारतमा रहेका लाखौं हाम्रा मतदातालाई हरेक पार्टीले मत दिनको लागि हामी माननीय हुनका लागि भोट हाल्नको लागि पत्र पठाउन मिल्ने अहिले विदेशमा अलपत्रमा रहेका नेपालीहरु र भारतमा रहेका नेपालीहरु हामी हाम्रो देश फर्किन चाहन्छौं हामीलाई जीवन रक्षा गर्नुपर्यो, हामीलाई सुरक्षाको अनुभुति दिनु पर्यो भन्दै गर्दा सरकारले के हेरेर बसेको ।’ उहाँले कुवेत लागयतका देशबाट रुदै जीवन रक्षाको माग गरेको अवस्थामा पनि सरकारले वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘कुवेतबाट महिलाहरुको चित्कार सुनेको छ कि छैन ? तीन दिन भइसक्यो हामीलाई यहाँ छोडनुपर्छ भनिराखेको छ भने यो सरकारले डिप्लोम्याट्सहरु राखेको छ राजदूतावास राखेको छ उनीहरुले त्यसको अभिलेख राखेर त्यहाँको उद्वारको लागि र नेपालमा ल्याएर पीसीआर र क्वारेन्टाइनको व्यवस्थाको लागि यो सरकारसँग रकम छैन् । ढुकुटी छैन कसले पत्याउँछ ।’
सांसद दिव्यमणि राजभण्डारीले बोर्डरमा रहेका नेपाली नागरिकहरु र विदेशमा अलपत्र परेका नेपालीहरुको उद्वार नगरेर सरकारले लाचारी पन देखाएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले नै पठाएको रेमिट्यान्सले थामेको देशको सरकारले उनीहरुलाई समस्या पर्दा सहयोग नगर्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जो सुकै होस् चाहे भारतमा होस्, चाहे विदेशमा होस् उनीहरुले कमाएर ल्याएको पैसाले उनीहरुको रेमिट्यान्सले राज्यलाई कति थामिरहेको थियो । हामीले पनि कति खाइरहेका थियौं त । आज उनीहरुलाई आवश्यकता पर्दा हामीले के गर्न सक्यौं । लाचारी छौं हामी । किनभने हाम्रो चाहना हुँदाहुँदै हाम्रो उनीहरुप्रति करुणा हुँदाहुँदै सरकारको कुनै यसमा इनिसेटिभ नै छैन । सरकारले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा उनीहरुको केही पनि देखिदैन् । यो दुर्भाग्य हो ।’
सांसद सुरेन्द्र कुमार कार्कीले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई ल्याउन सरकारले कुनै पहल नगरिरहेको अवस्थामा समितिले ठोस नतिजा आउने गरी निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले समस्यामा भएका नेपालीलाई ल्याउनका लागि सबै देशलाई परीक्षण गराउन पत्राचार गर्ने र देशहरुलाई वर्गिकरण गरी प्राथमिकताका आधारमा ल्याउने व्यवस्था मलाउने गरी सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘क्याटेगोरिकल्ली यति दिन भित्रमा चिठीपत्र लेख्ने, अब सात दिनभित्रमा चिठी लेख्दा भइहाल्यो, सबै देशलाई की तपाइहरुले परीक्षण गराईदिनुस् हाम्रो मान्छेलाई भनेर । कुनकुन देश रातो सेतो छ भनेर यही बसेर गर्न सकिन्छ अहिले गुगलमा हेरेर । तेस्रो हाम्रा मान्छेको क्याटागोरी कसलाई सबैभन्दा अर्जेन्ट ल्याउनु परेको छ त्यो मान्छेको क्याटोगराइज गरौं । यता आन्तरिक रुपमा क्वारेन्टाइन विस्तार गर्ने, त्यो क्वारेन्टाइनसँग हस्पिटललाई लिंक गर्ने, र त्यसलाई सहयोग गर्ने, त्यसको अवलोकन गर्ने, त्यसको अध्ययन गर्ने गरौं ।’
सरकारले विदेशमा रहेका र भारतसँगको सीमामा आएर बसेका नेपालीलाई सम्बन्धित देशले नै व्यवस्थापन गर्ने बताउँदै आएको छ । तर नेपालीहरुले भने आफूहरु विदेशमा निकै समस्यामा भएको, खाने बस्ने व्यवस्था राम्रो नभएको र अमानवीय व्यवहार भइरहेको भन्दै सरकारसाग देश फिर्ता आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यसै सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका सांसदहरुले सरकारलाई ठोस योजनासहित समस्यामा परेका नेपालीहरुलाई ल्याउन माग गरेका हुन् ।