काठमाडौं । लकडाउन जेठ २० गतेसम्म लम्बिएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २० गतेसम्म लम्याउने निर्णय गरेको हो ।
यसअघि जेठ ५ गतेसम्मको लागि तोकिएको लकडाउन १५ दिन थपिएको हो । काेराेना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा चैत ११ गतेदेखि लकडाउन भइरहेको छ । शुरुमा एक साताको लागि घोषणा गरिएको लकडाउन सरकारले विभिन्न चरणमा थप्दै लगेको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भइरहे पनि नेपालमा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । मुलुकमा आइतबार साँझसम्म संक्रमित संख्या २ सय ९५ पुगिसकेको छ ।
नेपालमा २ महिना अघिदेखि नै छिट्फुट रुपमा कोरोना संक्रमित देखिन थाले पनि लामो समयसम्म त्यसबाट कसैले जीवन गुमाउनु भने परेको थिएन । तर बिहीबारदेखि भने कोरोना भाइरसले नेपालमा पनि मानिसको ज्यान लिन थालेको छ । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको बिहीबार निधन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको २ दिनपछि प्राप्त रिपोर्टको आधारमा उनको कोरोना संक्रमणले निधन भएको शनिबार पुष्टि गरेकाे हो । त्यसको भोलिपल्ट आइतबार बाँकेमा पनि २५ वर्षीय युवकको कोरोनाको कारण निधन भएको छ ।
मुलुकमा पछिल्लो समय कोरोना संक्रमण अप्रत्यासित रुपमा बढ्ेको त्यसबाट मृत्युसम्म हुन थालेपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेकोे हो । आइतबार दिउँसो बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुले पनि काम गर्न पाउनेविदेश र भारतबाट आएर मुलुकको विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेकाहरुले पनि अब काम गर्न पाउने भएका छन् । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्दै त्यसरी बसेकाहरुले पनि सुरक्षित तवरले खेतीपाती र विकास निर्माण लगाउयका काम गर्न पाउने बनाएको हो ।सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको बताउउनु भयो ।
‘लामो समय अर्थात् १४ दिन क्वारेन्टाइनमा बस्दा मानसिनलाई पट्याट लाग्न सक्छ, त्यसकारण यसलाई मध्यनजर गर्दै क्परेन्टाइनमा रहेकाहरुले पनि सुरक्षित किसिमले खेतीपाती, घरायसी र आफ्नो अनुकुल अनुुसार विकास निर्माणको काम गर्न पाउने व्यवस्था भएको छ’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘त्यस्तै ठूला तथा साना विभिन्न आयोजनामा कार्यरत मजदुरले सुरक्षित ढंगले काम गर्न पाउने व्यवस्था गरिएको छ । विकास, निर्माणको काम पनि सुरक्षित तवरले संचान गर्ने निर्णय भएको छ । खाद्यान्न, कृषिजन्य लगायतका आवश्यक वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न पाउने यसअघि भएको निर्णय यथावत राखिएको छ ।’
मन्त्री खतिवडाले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खालका आयुवेदिक तथा जडिबुटीजन्य वस्तु सेवनलाई प्रोत्सान गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।