काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतोले राजनीतिक स्थायित्त्वको कुरा गर्ने सरकारले अस्थिरता निम्त्याएर कुर्सी जोगाईराख्न रातारात अध्यादेश ल्याएको समेत दाबी गर्नुभयाे।
सिंगो देश नै महामारीबाट आक्रान्त भएको बेला जनताको जीवनरक्षा र आर्थिक मन्दीबाट अर्थतन्त्र जोगाउनेतर्फ केन्द्रित हुनुपर्नेमा सरकार झिना मसिना कुरामा अल्झिएको उहाँकाे टिप्पणी छ । सरकारको ध्यान जनताको संकट समाधान गर्न भन्दा कुर्सी जोगाउनेतर्फ केन्द्रित भएको,स्वदेशी बस्तु उपभोग गर्ने भनेपनि उत्पादन वृद्धितर्फ ठोस कार्यक्रम नआएको आरोप उहाँले लगाउनुभयो । उहाँले सरकार मुलुकको समस्या सम्बोधन प्रति संवेदनशील नभएको उल्लेख गर्नुभयो ।
‘सुखी नेपाली सम्मृद्ध नेपाल खै दृष्टिकोण ? खै गन्तव्य? खै लक्ष्य ? खै कार्यक्रम ? खाली नारा दिएर हुन्छ ?’, उहाँले भन्नुभयो “निरोगी नेपाली बनाउने हो कि ? रोगी नेपाली बनउने हो ? लकडाउन बाहेक सरकारले के गर्यो ? जनताको जीवनरक्षाका लागि के के गर्याे ? कहाँ कहाँ राहत बाड्यो ? उद्योगधन्दा बचाउने के काम गर्यो ? अर्थतन्त्र संकटमा जाने अवस्था छ त्यसबाट जोगिने काम के गर्यो ? संकटमा परेका उद्योगपति व्यापारीका लागि के गर्याे ? विदेशमा रहेका नेपालीहरु देश फर्किन खोजेका छन् के गर्यो ? बकमफुस नारा दिएर जनताको रक्षा हुने हो र ?’
महतोले संकटको बेलामा औषधी खरिदमा पनि भ्रष्टाचार गरेको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको भन्दै सुशासन, न्याय र अपराधमुक्तको समाजको नारा केबल ‘सुगाँ रटाई’मा सिमित भएको आरोप लगाउनुभयो ।
‘सुगा रटाई त जहिले पनि सुनेकै हो नि त । शिकारी आएगा, जाल विछ््याएगा, दाना डालेगा,लोभसे फस्ना नहीँ’ उहाँले भन्नुभयो, ‘सुगा रटाई गर्दै भ्रष्टाचार गर्दे । यही हो सुशासन ? निर्मला पन्तको हत्यारा पत्ता लगाउन पटक पटक देशबासीले उठाए । खै त ? न्याय पाउने रे ? खै रेशम चौधरीले न्याय पाएको ? अपराध मुक्त रे अनि सांसदको अपहरण हुने अनि यसरी हुन्छ ?’
नेपाली भूमिमा भारतले बाटो निर्माण गरेको गरेको जानकारी भएर सरकारले समयमा नै सिमा रक्षाका लागि उपयुक्त कदम चाल्न नसकेको महतोको आरोप छ ।
‘कसले सीमा रक्षा गरिदिने हो ? सरकारले गर्ने हो कि, कसले गर्ने हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘७० वर्षदेखि उठेको कुरा । सरकार के हेरेर बसेको थियो ? यो राष्ट्रघाती हो कि होइन ? मधेसी दलले बोलेन , राजेन्द्र महतोले बोलेन रे । सीमाको रक्षा दौरा सुरुवाल टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ? जनताको जीवन र देशको सिमा रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ?’