मोरङ । विराटनगरमा फार्मेसी संचालन गर्दे आएका देवीप्रसाद दुलालको हत्या पत्नीले नै प्रेमीसँग मिलेर गरेको रहस्य खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारका ३३ वर्षीय दुलालको आइतबार बिहान हत्या भएको हो ।
दुलाल औषधि व्यवसायीको शिलशिलामा विराटनगर महानगरपालिका वडा नम्बर १० मधुमारामा बस्दै आएका थिए । उनको बसेकै स्थानमा हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पत्नी ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र सिरहाको लाहान नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय सोनु साह पक्राउ परेका छन् । ब्रह्मदेव साह दुलालकी पत्नी मीनाको प्रेमी रहेको रहस्य खुलेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार दुलालको हत्या पत्नीकै योजनामा भएको देखिएको छ । औषधि व्यवसायी दुलाल सुतेको बेला राति प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।
ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेको पत्नीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको बायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु-याइएको थियो । अस्पताल पु-याउनासाथ चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका थिए । चिकित्सकले मृत्यु अस्वभाविक रहेको जनाएपछि घटनाबारे अनुसन्धान थालिएको हो । घटनाबारे त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानबाट घटना हत्या नै हो भन्ने पुष्टि भएको हो ।
घटना अनुससन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दुलालको शव, नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो । घाँटीमा डोरीले कसेको डाम थियो। घटनाबारे अनुसन्धान गर्दै जाँदा शनिबार राति औषधि व्यवसायी धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृतक दुलालसहित दुलालकै डेरामा बसेर मदिरा सेवन गरेको खुलेको छ। मदिरा सेवनपछि काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिए।
प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी पत्नी मीनासँग सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको हो । घटनामा काफ्ले र श्रेष्ठको भने संलग्नता देखिएको छैन । काफ्ले र श्रेष्ठ निस्किएपछि प्रेमीसँग मिलेर पत्नीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी हिरासतमा रहेकी मीनाले शुरुमा पतिलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेकी थिइन् ।
उनले त्यसरात पति र आफू एउटै कोठाको अलग–अलग खाटमा सुतेका बेला घटना भएको दाबी समेत गरेकी थिइन् सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा दुलाललाई उपचारका लागि भनेर अस्पताल पुर्याएकी थिइन् ।
ब्रह्मदेव ४ वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढ्यो । पत्नीसँग हिमचिम बढेको थाहा भएपछि देवीप्रसादले ब्रह्मदेवलाई ५ महिनाअघि कामबाट निकाले । उनलाई कामबाट निकालेको विषयमा मीनाले पतिसँग विवाद समेत गरेकी थिइन् । ‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको पाइएको प्रहरीले जनाएको छ । त्यो कुरा पनि थाहा पाएर त्यसो नगर्न दुलालले पत्नीलाई सम्झाई–बुझाई गरिरहेकै बेला हत्याकाे योजना बनेको अनुन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान शूरू गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।