फाइल तस्बिर
काठमाडौं । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना संक्रमितसँगै दिर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेको, पर्याप्त पूर्वाधार नभएको र विदेशमा अलपत्र परेकालाई नेपाल भित्र्याउनुपर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नन्दा चपाईंले कोरोना संक्रमित विरामी र दीर्घ रोगी तथा गर्भवतीको चेकजाँच एउटै ठाउँमा भइरहेको बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि फरक र अन्य विरामीका लागि फरक अस्पताल निर्माणमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । सुविधायुक्त ठाउँमा संक्रमित व्यक्ति र गर्भवतीको उपचार गर्ने अस्पताल फरक भएपनि धेरै प्रदेशमा दुवै प्रयोजनका लागि एउटै अस्पताल रहेकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘सुविधायुक्त ठाउँमा कोरोना भाइरस र गर्भवतीलाई जाँच गर्ने अस्पताल फरक होला तर सबै प्रदेशमा नभएको कारण अन्य प्रदेशमा अन्य प्रयोजनका लागि बनाइएको भवनमा उपचार गर्ने व्यवस्था मिलाओस् भन्न चाहन्छु’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई निक स्वदेश ल्याउन नसकेको बताउनुभयो । ८, १० लाख नेपालीहरु विदेशमा तड्पिएका छन् । ‘जरुरी, जरुरी र सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ । नेपालमा निजी समेत दर्जनौं विमान पनि छन् । सुविधा सम्पन्न होटल छन्’ उहाँले भन्नुभयो, ‘तिनीहरुलाई आइसोलेसन र क्वारेन्टाइन बनाऔं र पूर्व राष्ट्र सेवक कर्मचारीलाई समेत प्रयोग गरौं । सीमानामा अड्केकाहरुलाई बस लगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं । सरकारले आफ्नो लगानी गर्ने यता तिर हो । यतिकै बस्नु भन्दा हवाई सेवा, होटल र बसले पनि काम पाउँदछन् । लकडाउनले यति गर्न रोक्दैन् । समस्यामा परेका जनताले राज्यलाई अभिभावक भएको अनभूुति होस् । हामीले नेपाली भएको गर्व गर्न सकौं ।’
नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्दकालीन समयमा जागिर गुमाएका शिक्षकलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । शान्ति प्रकृयासँग जोडिएको विषय भएकाले सरकारले पुर्नवहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो ।
‘जनयुद्धका क्रममा शिक्षकहरु तत्कालीन सरकारद्धारा जागिर खोसियो । उनीहरुले आन्दोलन गरिराखेको पनि धेरै वर्ष भएको छ’ उहाँले भन्नुभयो, ‘यो शान्ति प्रकृयासँग जोडिएको विषय भएको कारणले सरकारले बजेट छुट्याई तिनिहरुको पुर्नवहाली र क्षतिपूर्तिको उचित व्यवस्था गरोस् ।’
सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्नो धारणा राख्नुभएको छ । नेपाल र भारतका पूर्वा शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उहाँले आग्रह गुर्नभयो ।विडारीले सरकारले गाउँ गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको व्यवस्था गर्न माग गर्नुभएको छ । किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।जनताहरु लक डाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गनुृभयो ।सांसद विडारीले पास वितरणमा अझै कडाई गर्न गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ । २, ४ हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।