काठमाडौं । सरकारले आज नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने भएको छ । सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न लागेको छ ।
नयाँ नक्शा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार दिउँसो सार्वजनिक गर्दैछ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपाल दिउँसो सवा २ बजे नेपाल टेलिभिजनमार्फत नक्सा सार्वननिक गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा पारित गरेको हो । प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुने प्रतिवद्धता जनाउनु भएको छ ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जेष्ठ २ गते संघीय संसदमा आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको उल्लेख गर्नुभएको थियो ।
नयाँ नक्शासँगै नेपालको क्षेत्रफल समेत बढेको छ । नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्ग किलोमिटर कायम हुने भएको छ । यसअद्धि नृपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भन्ने गरिएको थियो । मन्त्री अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग छलफल गरेपछि नयाँ नक्सा सार्वजनिक गर्न लागिएको हो ।
सरोकारवाला विज्ञले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने वातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने सुझाव दिएका छन् । आगामी दिनमा सबै एकजुट भएर अहिले नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने विज्ञहरुको सुझाव छ । नेपालका तर्फबाट सबै सहयोगी दस्तावेज संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई हटाउनुपर्नेमा विज्ञहरुको जोड छ ।