बन्दना पोखरेल पाल्पा । बन्दाबन्दीका कारण विकास निर्माण ठप्प रहेका बेला यहाँको एक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कसरत अघि बढाइएको छ । जिल्लाको राम्चेस्थित राम्चे सामूदायिक वनलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय लागि परेका हुन् । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले छुट्याएको बजेटबाट ५ वर्षभित्रमा सम्पन्न गर्ने गरी पुर्वाधार निर्माणको काम अघि बढाइएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको भयले लकडाउन जारी रहेपनि भौतिक दुरी कायम गरेर वनलाई पर्यटकिय क्षेत्र बनाउने गरी काम अघि बढाइएको राम्चे सामुदायिक वन उपभोक्ता समिति सचिव राधिका भण्डारीले जानकारी दिनुभयाे । वनको पुर्वाधार विकासका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित ५० लाखमध्ये ८ लाख ‘कन्टेन्जेन्सी’ कटाएर ४२ लाखको टेन्डरमा मोबाइल निर्माण कन्स्ट्रक्सन कम्पनीले काम अघि बढाएकाे हाे ।
समुद्री सतहबाट करिब ५०० मिटरको उचाइँमा रहेको राम्चे सामुदायिक वन ९९ हेक्टर जमिनमा फैलिएको छ । अहिले करिब ५ हेक्टर जमिनलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिँदै लगिएको छ । करिब दुई दशक अघि ‘पिक्निक स्पोर्टस’ निर्माण बाट शुरु गरिएको वनको भौतिक सरंचनामा अहिले उल्लेखनिय परिर्वतन आएको छ । यहाँ निर्माण गरिउको ५ तलाको भ्यु टावरबाट रामपुर, चापाकोट, नवलपरासी र तनहुँका अधिकांश क्षेत्र र गण्डकी बेसीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै वनभित्रै बनेको ५ सय सिट क्षमताको सभाहल र भगवान रामको मन्दिर पनि प्रयोगमा ल्याइ सकिएको छ ।
भगवान रामचन्द्र १४ वर्ष वनबास बस्ने क्रममा यहाँ आएको पौराणिक कथासँग जोडिएको रामपुर उपत्यका अहिले ढुंंगाको शहर बन्ने क्रममा विकासको गतिमा दौडिरहेको छ । उपत्यकामा धेरै घर तथा कार्यालय जस्ता भौतिक संरचना निर्माण हुनुका साथै मानिसको बस्ती बाक्लो बन्दै गएको छ । चितुवा, मृग, कालिजजस्ता वन्यजन्तु पाइने नाम्चे वन क्षेत्रमा धेरै प्रकारका जडिबुटी समेत पाइने सचिव भण्डारी बताउँछन् । वन क्षेत्रमै करिब ३ हेक्टर क्षेत्रफलमा अम्रीसो खेति गरिएको छ भने अत्याधिक मात्रामा काठजन्य साल, सिसौं र चिलाउने लगायतमा रुखहरु छन् ।
राम्चे वनमा आउने पर्यटकलाई दृश्यावलोकनका लागि शुल्क लाग्ने व्यवस्था गरिएको छ । ३० रुपैयाँ देखि ५० रुपैयाँसम्म दृश्यावलोकन शुल्क तोकिएको छ भने सभाहल प्रयोग गरेवापत १५ सय तिनुपर्छ ।
वन क्षेत्रमा निर्माण गर्न लागिएका पूर्वाधार निर्माणका लागि ११ करोड ५ लाख ३७ हजार बराबरको बजेट लाग्ने प्राविधिक अनुमान गरिएको राम्चे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृतिनाथ श्रेष्ठको भनाइ छ । प्रदेश सरकारले छुट्याएको बजेटले बाल उद्यान, सुविधा सम्पन्न दृश्यावलोकन गर्न मिल्ने स्तम्भ, मोटर बाटोको स्तरोन्नति, पानीको फोहरा र बगैंचा लगाएतका पूर्वाधार निर्माण गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो ।
३२१ वन उपभोक्ता रहेको राम्चे वन क्षेत्र रामपुर उपत्यकाकै सुन्दर वन र पर्यटकिय क्षेत्रका रुपमा विकास हुन लागेको छ । रामपुरका धेरै ठाउँका नाम भगवान रामको नामबाट राखिएका छन्। रामले नुहाएको ठाउँलाई रामघाट, रामले कुकुर बोलाएको राम चे र रामले नुहाएको कुवालाई रामकुवा भनिनुका साथै यहाँको मन्दिरमा गरिने पूजालाई रामनवमी पूजा भन्ने पनि चलन छ ।