काठमाडौं । प्रदेश १ मा हालसम्म ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म सबैभन्दा बढी प्रदेश नम्बर ५ मा एक सय ९६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश २ मा एक सय ३६ बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता डा.देवकोटाले बताउनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो । रुपन्देहीका २७ वर्षीय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
प्रवक्ता डा.देवकोटाले रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको पनि जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिमसन अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको निधन भएको हो । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।
बिहीबार टेकुमा उपचाररत ४ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला तथा २७ र ३७ वर्षीय पुरुष ९ औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा उपचारपछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट मात्रै ३ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।
प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, बागमती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । हाल देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।