रविन्द्र सिंह ठकुरीबाँके । जिल्लामा केही समय अघिसम्म सुविधा सम्पन्न क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिएको भनिए पनि प्रयाप्त सुविधा नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा यस्तो जोखिम देखिएको हो । सरोकारवालाहरुले सुविधासम्पन्न क्वारेन्टाइन बनाइएको दावी गरेपनि त्यस्तो दावी सस्तो लोकप्रियताजस्तो मौ देखिन थालेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित व्यक्तिको संख्यामा वृृद्धि भएसँगै गाउँपालिकामा आइसोलेसन भारतबाट फर्किएका नेपालीका लागि उपयुक्त क्वारेन्टाइनको अभाव देखिन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय र ८ वटै स्थानिय तहले आफुले क्वारेन्टाइन र आइसोलेसनको निर्माण गरेको दावी गरेपनि क्वारेन्टाइन व्यवस्थित नभएको सेवाग्राहीले गुनासो गरेका छन् । भौगोलिक रुपमा सदरमुकामबाट केही दुरीमा रहेको जिल्लाको राप्ती सोनारी गाउँपालिकाले केही समय अघि नै सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरिएको घोषणा गरेपनि पछिल्लोपटक भारतबाट फर्केका स्थानीयलाई क्वारेन्टाइनमा राख्न समस्या देखिएको छ ।
क्वारेन्टाइनमा बसिरहेकाहरु त्यहाँ उपलब्ध सुविधा राम्रो नभएको बताउँछन् । केही दिन अघि भारतको हिमाञ्चलबाट फर्किएका राप्ती सोनारी गाँउपालिकाका अमर बहादुर सुनार भन्छन्, ‘हामीलाई क्वारेन्टाइनसम्म त राम्रोसँग ल्याइयो तर यहाँको व्यवस्थापन भारतको भन्दा पनि नराम्रो छ’, ‘क्वारेन्टाइनमा खान, नुहाउन, शौचालय र पानीको प्रर्याप्त उपलब्धता छैन् ।’
राप्ती सोनारी गाँउपालिकाले सबै वडामा क्वारेन्टाइन निर्माण गरेको भएता पनि मापदण्ड अनुरुप नभएको स्थानीय मनोज केसी बताउँछन् । ‘एउटा कोठामा करिब ६ वटा बेड राखिएको हँुदा एक अर्काेमा संक्रमण हुन सक्ने र साझा शौचालयको प्रयोग गर्नुपर्ने जस्ता समस्या क्वारेन्टाइमा देखिन्छन्, विपदको समयमा सबै राजनीतिक दल एक भएर अगाडी बढे मात्र महामारीको सामना गर्न सकिन्छ, उनले भने ।
राप्ती सोनारी गाँउपालिकाका केही विकट र सदरमुकामबाट ६५ किलोमिटर दुरीमा रहेको वडा नम्बर १ ले पनि २५ बेडको क्वारेन्टाइन निर्माण गरेको त छ तर निर्माण गरिएको क्वारेन्टाइनमा पानी तथा विद्युतको समस्या रहेको वडाध्यक्ष चन्द्र बहादुर ओलीले बताए । ओलीका अनुसार शुरुवातमा राप्ती सोनारी गाउँपालिकामा ५ क्वारेन्टाइन निर्माण गरिएका थिए, जसको बेड संख्या ७४ थियो । ‘पहिला निर्माण गर्दा सुविधा सम्पन्न भए पनि भारतबाट आएका नेपालीको संख्या वृद्धि भएकाले क्वारेन्टाइनको व्यवस्थापनमा केही कमजोरी देखिन गएको हो’ ओलीको भनाइ छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारु पनि पछिल्लो समय बाँकेमा विद्यालयहरुलाई क्वारेन्टाइनमा परिणत गरिएको र कहीँ सामान्य सुविधा पनि नरहेकोले समस्या देखिएको स्वीकार गर्छन् । तर निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थित नबनाउँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने र बनाइएका सुविधाविहीन क्वारेन्टाइनहरु केवल क्वारेन्टाइनमा मात्रै सिमित हुनेतर्फ गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।