सांकेतिक : तस्विर
काठमाडौं । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टाइनमा शुक्रबार बसेका लोकेन्द्र सिंहमा खुशीको सीमा छैन । भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच शनिबार जाजरकोट पाइला टेकेका सिंहलाई अहिले घर पुगेझै भएको छ । हुन त उहाँको घर पूर्वी जाजरकोट अर्थात् सदरमुकामबाट २२ कोष टाढा रहेको छ । भारतीय हेपाहा व्यवहारबाट भारी पीडा खेपेको बताउने सिंहले भन्नुभयो, “यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टाइनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो रु उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो ।”
जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल भएको बताउने सिंह अहिले ४१ केजीमा झरेको समेत बताउँछन् । पैसा हालेर पानी किन्न खोज्दासमेत नपाएको उहाँको गुनासो छ । भेरी ज्ञानोदय क्याम्पसमा उहाँसँगै करिब १०० बढी सर्वसाधारण क्वारेन्टाइनमा बसेका छन् । स्थानीय सरकारसँगको सहकार्यमा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वको टिमले अहिले क्वारेन्टाइन निर्माणदेखि सबै समस्या हल गरिरहेको छ । क्वारेन्टाइनमा बसेका अहिले आफ्नै भूमिमा पुगेको भन्दै परिवारसँग फोन सम्पर्क गरी कुनै चिन्ता नलिनसमेत आग्रह गरिरहेका छन् ।
अर्काको भूमिमा पीडाका साथ बसेको भन्दै बारेकोट गाउँपालिका–८ का रमेश विकले अब बाँच्ने ठाउँमा आएको बताउनुभयो । उहाँले खुशीका आँसु झार्दै भन्नुभयो, “कम्तीमा एक दिन नजिकको क्षेत्रमा पुगिएको छ, हामीलाई उद्धार गरेर ल्याउने स्थानीय सरकार र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यावाद दिन चाहन्छु ।”
पहिले भारतीयहरुले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको विकले बताउनुभयो । कोरोना त्रासभन्दा भारतीयको हेपाहा प्रवृत्ति सबैभन्दा खतरा भएको नलगाड नगरपालिका–७ का लक्ष्य कामीले बताउनुभयो । भारतको क्वारेन्टिन भनेको जेलजस्तै भएको उहाँको भनाइ छ । जाजरकोटको क्वारेन्टिन भनेको महलमा बसेझैँ भएको भन्दै उहाँले भन्नुभयो, “समय–समयमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी र स्वास्थ्यकर्मी आएर के–कस्तो छ भनेर सोध्नुहुन्छ । हामीले पनि भएका समस्या भन्छौँ, एकापसमा पीर, मर्का साटासाट भएको छ ।”भेरी ज्ञानोदय क्याम्पसमा कोठाको आकारअनुसारको व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । क्वारेन्टिनमा बसेका कसैलाई पनि केही समस्या हुन नदिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले क्वारेन्टिनमा बसेका नागरिकलाई घरपरिवारमा बसेझैँ गरेर व्यवस्थापन गर्न खोजिरहेका छौँ । जसका कारण उहाँहरुलाई कुनै पीडा नहोस् र रोगसँग लड्ने क्षमता बढोस् ।”स्वास्थ्य सेवा कार्यालयको मातहतमा रहेको जाजरकोट अस्पतालको २०० मिटरको दूरीमा क्वारेन्टिन निर्माण गरी बाहिरबाट आएका सर्वसाधारणलाई राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । बिरामी हुँदा होस् वा अन्य केही समस्या भएमा छिटोछरितो कामकारवाही गर्न स्वास्थ्य संस्थाको नजिक राखिएको उहाँको भनाइ छ । प्रत्येक पालिकाबाट एक व्यवस्थापक र एक स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापनका साथै स्वास्थ्य जाँचका लागि परिचालन गरिएको छ ।
त्रिभुवन मावि खलङ्गामा भेरी नगरपालिकाका र भेरी ज्ञानोदय क्याम्पसमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासीलाई राखिएको छ । ३०० भन्दा बढी मानिस आउने आँकलनका साथ यहाँ व्यवस्थापन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताउनुभयो । क्वारेन्टिनको सुरक्षाका लागि नेपाली सेनालाई खटाएको छ । अन्य व्यवस्थापन सूचना सङ्कलन, संरचना निर्माणको काममा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । क्वारेन्टिनमा खानेपानी र विद्युत्को समस्या हुँदा चुनौती भएको छ । स्थानीय तह आफैँले किट किनेर आफ्ना नागरिकलाई कोरोना परीक्षण गराउने तयारीसमेत भएको छ । रासस