सनिउल्ला धोबी,कपिलवस्तु । कपिलवस्तुका तीन साझेदारी वन व्यवस्थापन समितले कोरोनाभाइरस परीक्षणका लागि १५ लाखको रूपैयाँकाे पीसीआर किट खरिद गर्ने भएका छन् ।
गौतम बुद्ध डिभिजन वन कार्यालय क्षेत्र अन्तर्गत पर्ने किट अभाव भएका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, बुद्धभूमि नगरपालिका र विजयनगर गाँउपालिकालाई किट हस्तन्त्रण गर्ने कार्य अघि बढेको छ । जिल्लाको कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले १५ लाखको पीसीआर किट खारिद गर्ने निर्णय गरेको गौतम बुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो ।
कपिलवस्तुको पालिकामा किट आभाव भएकाले किट खरिद गरी कपिलवस्तुका पाँच पालिकालाई हस्तान्तर गरिने वन अधिकृत कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ‘साझेदारी वन व्यवथापन समितिको सामाजिक विकास शीर्षकको रकमबाट किट खरिद प्रक्रीया आगाडि बढाएका छौं ।’
कपिलवस्तुको पश्चिम क्षेत्रमा रहेका कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष र सहयाक वन अधिकृतहरुको बैठकले किट खरिद गर्ने निर्णय गरेको हो ।
बैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिति गठन गरी खरिद प्रक्रिया आगाडि बढाएको छ । एक साताभित्र किट खरिद गर्ने कार्य शनिबारदेखि नै शुरु गरिएको अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनुभयो । जिल्लामा पीसीआर किट आभाव हुँदा क्वारेन्टाइनमा चाप बढदै गएकोले किट खरिद प्रक्रिया अघि बढाइएको अध्यक्ष तिवारीले बताउनुभयो ।
गौतम बुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीको अध्यक्षतामा बसको बैठकमा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकिप्रसाद यादव, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारी रहनुभएको थियो । बैठकमा सहायक वन अधिकृत एजाज अन्सारी, प्रेम शंकर गुप्ता, सन्जय मिश्राको समेत सहभागिता रहेको थियो ।