आशिष बहादुर सिंह बझाङ । कोरोनाभाइरसका कारण कलिला नानी बाबुका हातमा किताब कापी बोक्ने बेला माछा मार्न खोली बगर जानु परेको छ । विश्वलाई नै आर्थिक, भौतिक तथा शैक्षिक संस्थामा पारेको प्रभावले कलिला बालबालिकाको पढाइमा पनि निकै असर पारेको देखिन्छ ।
सुगमका बालबालिकाको भन्दा दुर्गमका बालबालिकाको दैनिकी निकै फरक ढङ्गले बितेको नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए । सुगम तथा शहरका बालबालिका अनलाइनमार्फत् शिक्षकसँग पढाईको बारे छलफल गरी घरभित्रै अभिभावकसँग बसी पढाईको अभ्यास गरिरहेका छन् भने हाम्रो जस्तो बिगट जिल्लामा फोन समेत नलाग्ने ठाउँका बालबालिका कोही मेलापात गर्छन् त कोही माछा मार्न खोली बगर गएर नै दिन बिताई रहेका छन् ।
विद्यार्थी सुबेर सिंहले भने, ‘विद्यालय बन्ध भएको दुई महिनाभन्दा बढी भएको छ, हामीले परीक्षा दिन पाएका पनि छैनौं । पढेको कुरा पनि हामीलाई याद छैन, भुसुक्कै बिर्सिसकेका छौं । अब परीक्षामा के लेख्ने हो भन्ने चिन्ता छ ।’
उनी जस्तै बालक अरुण रोकायाले भने, ‘मैलै दुई कक्षाको परीक्षा दिएको थिएँ, नतिजा आएको छैन । नतिजा कस्तो आउने हो अनि मैलै कुन किताब पड्ने भनेर कहिले घर आगनमै साथीहरुसँग खेल्छौ, कहिले खोलातिर नुहाउन र माछा मानै जान्छौं ।’
लकडाउनका कारण एसईईको परीक्षा पनि स्थगित भएको छ । शैक्षिकसत्र शुरु भएर पढाईले गति लिनेबेलामा अन्योलमै रहन बाध्य छन् विद्यार्थीहरु ।
बझाङका १२स्थानीय तहमध्ये कुनैपनि स्थानीय तहले बालबालिकाको पढाईबारे कसैको पनि चिन्ता र चासो देखाएका छैनन् । स्थानीय सरकारले बालबालिकाका लागि अनलाइन वा रेडियोबाट पढाई पो शुरु गर्ने हो कि यसबारेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।