हरिशरण न्यौपानेकाठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिलाई थप व्यवस्थित पार्न खोजेको छ । अब बैंक तथा वित्तीय संस्थाले नोटलाई ३ वर्गमा वर्गीकरण गरी प्रयोगमा ल्याउनुपर्नेछ भने पूर्व राजाको तस्बिर भएको नोटलाई चलनचल्तीमा ल्याउन पाइने छैन ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउन निर्देशन दिएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाले एटीएमलगायतका मेशिनको माध्यमबाट चलन चल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्ने भएको छ ।
काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप प्रयोग गर्नु पर्नेछ । चलन चल्तीमा उठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नु पर्ने छ । विभिन्न रङ प्रयोग गरिएका नोटको स्लीपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम लगायतका विवरण खुलाउनु पर्नेछ ।
गिन्ती गर्ने कर्मचारीको परिचय नम्बर, सहि र मिति अनिवार्य रुपमा भर्नुपर्नेछ । नोटमा स्टिच लगाउन पाइने छैन । झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रने गरी रंग लागेको वा पूर्व राजाको तस्बिर भएको नोटलाई पुन निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ । त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन पाइने छैन । चलनचल्तीमा पठाउन अयोग्य नोट नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ भने यी संस्थामा पहुँच नभएका वित्तीय संस्थाहरूले भने आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ ।
त्यसैगरी, भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रकृया अपनाई जीवाणु तथा भाइरसरहित गर्नुपर्नेछ । नोट राख्ने दराज, फर्निचर, नोट ओसार पसार गर्ने सामाग्री सफा हुनुपर्ने, नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने स्थानमा यथोचित प्रकाश भएको र पर्याप्त मात्रामा हावाको व्यवस्था हुनुपर्ने परिपत्रमा भनिएको छ ।