हुमाकान्त पोखरेल गुल्मी । कोरोना संक्रमण फैलन नदिन जिल्लामा ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले आइतबार प्रतिकार्य योजना निर्माण गरेको हो । प्रतिकार्य योजना बमोजिम अब जिल्लाका ७ स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।
कोरोना प्रतिकार्य योजना कार्यान्वयनका लागि धुर्कोटको बर्बोट, मुसिकोटको वामी, चन्द्रकोटको शान्तिपुर, सत्यवती, रुरुक्षेत्र, छत्रकोट र रेसुङ्गामा आइसोलेसन कक्ष बनाउने निर्णय गरिएको जिल्ला समन्वय समिति सभापति लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । यसरी निर्माण गरिएका आइसोलेसनलाई दुई भागमा विभाजन गरिने उहाँको भनाइ छ । । जसमध्ये रेसुङ्गा नगरपालिकामा जटिल किसिमका बिरामी राख्ने र अन्य स्थानमा बनाइने आइसोलेसनमा सामान्य किसिमका बिरामी राख्ने योजना बनाइएको छ ।
बाहिरबाट जिल्ला आएकाहरुलाई सुरुमा क्वारेन्टाइनमा राख्ने, पिसिआर गरिसकेपछि पोजेटिभ देखिए रेसुङ्गा नगरपालिका बाहेकका आइसोलेसनमा राख्ने, अवस्था जटिल भए रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राख्ने र अति गम्भीर भए बुटबल लैजाने निर्णय गरिएको हो । यसका लागि रेसुङ्गा नगरपालिकाको आइसोलेसन कक्षलाई २० क्षमताबाट ५० क्षमताको पु-याइने भएको छ भने १२ वटै स्थानीय तहले दुई/दुई लाखका दरले आइसोलेसन निर्माण गर्न सहयोग गर्ने भएका छन् ।
प्रतिकार्य योजना अन्तरर्गत प्रत्येक क्वारेन्टाइनमा व्यवस्थापन समिति बनाउने र क्वारेन्टाइनमा रहेकाहरुलाई जनचेतनाको लागि शिक्षक परिचालन गर्ने समेत निर्णय गरिएको सभापति लक्ष्मण पराजुलीले बताउनुभयाे । बैठकले लकडाउनलाई थप व्यवस्थित गर्ने र लकडाउनबाट उत्पन्न नकारात्मक सन्देशलाई संयुक्त रुपमा निराकरण गर्ने समेत निर्णय गरेको छ ।
भारतबाट सीमामा अलपत्र परेका नागरिकलाई सम्बन्धित ठाउँसम्म ल्याउन तत्काल गाडी पठाउने, त्यसरी आएकालाई न्यूनतम १४ दिनसम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा खानाको व्यवस्था स्थानीय तहले गर्ने र बस्नको लागि सम्बन्धित परिवारबाट ओढ्ने, ओच्छ्याउने कपडा ल्याउन आग्रह गरिने पनि बैठकमा सहमति भएको छ ।।