भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका नवराज विकले जेठ १० गते बिहानको खाना खाएपछि आफ्ना साथीहरुलाई भने ‘आज केटी लिन जानु पर्यो जाउ’ नवराज र उनका साथीहरु मध्यान्ह १२ बजे गाउँबाट निस्किए । उनीहरुले आफ्ना अभिभावकलाई काफल खान जाने भनेका थिए । मध्यान्ह १२ बजेको समयलाई प्राय: अशुभ मानिन्छ । अभिभावकलाई झूठो बोल्नु पनि अनुचित । नवराज र उनका साथीहरुको त्यस दिनको साइत अभिभावक र रानागाउँको लागि मात्र होइन मुलुककै लागि अनिष्ट बन्न पुग्यो ।
आफ्ना अभिभावकसँग झूठो बोलेर घरबाट निसिक्एका उनीहरु दिउँसो ३ देखि ४ बजे चौरजहारी नगरपालिकाको वडा नम्बर ८ स्थित सोती गाउँमा पुगे, त्यहाँकी किशोरीलाई बेहुली बनाएर आफ्नो गाउँमा भित्र्याउने सपना लिएर । तर उनीहरुको सपना अधुरै रह्यो । नवराज त्यहाँकी किशोरीसँग प्रेम चक्करमा थिए । नवराज दलित समुदायका अनि उनकी प्रेमिका किशोरी ठकुरी खान्दानकी । कानुनले जातीय विभेद अन्त्य गरे पनि समाजमा अझै त्यसको पूर्ण रुपमा कार्यान्वयन भइसकेको छैन । त्यसको असर नवराज र उनका साथीहरुलाई पर्यो ।
सोती गाउँमा नवराजलाई पुप्लुक्क देख्ना साथ किशोरीकी आमा जंगिइन् –कामीको छोरो भएर यहाँ आउन लाज लागेन, कसरी हिम्मत आयो ? डुम भएर ठकुरीकी छोरी लिने’ किशोरीकी आमालाई आफ्नी छोरी र नवराजबीचको प्रेम चक्कर पहिल्यैदेखि थाहा थियो । किशोरीकी आमाले नवराज र उनका साथीहरुलाई हप्काइन्– तिमीहरु गइहाल ।’ किशोरी लिन भनेर सोती गाउँ पुगेका राना गाउँका १८ युवा आमाको त्यस्तो वचनपछि फर्किए । युवा सोती गाउँबाट तल ओलिँदै थिए । सोती गाउँका केही बासिन्दा ‘दुलाहा कहाँ छ ?’ भन्दै युवामाथि जाइलागे ।
उनीहरुले ढुंगामुढा गर्दै युवालाई लखेट्न थाले । सोती गाउँकी किशोरीलाई बेहुली बनाएर ल्याउने सपना लिएर त्यहाँ पुगेका युवा अकस्मात् आफूमाथि तथानाम गाली गर्दै ढुंगामुढा हुन थालेपछि आत्तिए । ज्यान जोगाउन भागाभाग गर्नुपर्ने अवस्था आयो । युवा पहाडका कान्ला थिचोल्दै भाग्न थाले । कोही बाटोबाटै दौडिए, कोही बारीका कान्लातर्फ हुत्तिए । केही भेरी नदीमा हाम फाले । मुलुकभर लकडाउन भइरहेको अवस्थामा अन्यत्रबाट आएका युवालाई सोती गाउँका स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गर्न थाले । आक्रमणबाट जोगिन भेरीमा हाम फालेकाहरु माथि नदीमा पौडिरहेकै बेला ढुंगामुढा प्रहार भयो ।
नवराजले सोती गाउँ जानुअघि आफ्नी प्रेमिकालाई फोन गरेर आफूहरु लिन आउन लागेको जानकारी गराएका थिए । सोती गाउँका स्थानीयले आफूहरु माथि ‘पहिला त बच्यो अब बाच्ने छैन’ भन्दै आक्रमण गरेको घटनाबाट जोगिएका एक युवाले सुनाए । उनका अनुसार राना गाउँका युवा पुगेपछि सोती गाउँमा ठूलै हंगामा भयो । ‘हामीमाथि अन्धधुन्ध आक्रमण भयो’ उनले भने, ‘कोही भाग्न सफल भए, केहीलाई प्रहरीले बचायो ।’ कोहीलाई विभिन्न हातहतियारसहित प्रहार गरियो । किशोरी लिन सोती गाउँ गएका मध्ये १० युवा भेरी नदीमा हेलिएर ज्यान जोगाइ घर फर्किएका छन् । नदीमा हेलिएर रानागाउँ फर्किएकाहरु मध्ये २ जनालाई गम्भीर चोट लागेको छ । ३ जना मृत अवस्थमा भेटिएका छन् । ३ जना अझै बेपत्ता छन् ।
कसरी प्रेममा परे नवराज ?दुई वर्ष अघि पुस महिनामा लाग्ने रमाइलो मेलामा नवराजले सोती गाउँकी ती किशोरी देखेका थिए । उनी पढ्न लागि बजार आएकी थिइन्। बजारमा कोठा लिएर बस्थिन् । त्यहीबेला नवराज र किशोरीबीच फोन, एसएमएस, देखि फेसबुकमा कुरा हुन थाल्यो । उनीहरु बेलाबखत भेटघाट समेत गर्न थाले । किशोरी नवराजको बहिनीको हुन् । बहिनीको साथी भएको हुँदा उनी नवराजको घरमा आउने जाने समेत गर्थिन् । उनलाई नवराज दलित समुदायको भएको थाहा थियो । किशोरीले आफू माओवादीमा आस्था राख्ने भएको हुँदा नवराजसँग ८ वर्षपछि बिहे गर्ने आमालाई सुनाएकी थिइन् ।
नवराज आफ्ना साथीभाइसहित किशोरीलाई भेट्न केही महिनाअघि पनि सोती गाउँ गएका थिए । त्यसबेला सोती गाउँ जाँदा पनि लफडा भएको थियो । केही साथीहरुसहित सोती गाउँ गएका नवराजलाई त्यसबेला पनि बासिन्दाले नजिकै रहेको प्रहरी चौकीमा बुझाएका थिए । एक रात चौकीमा राखेपछि प्रहरीले दुवै पक्षलाई मिलापत्रमा सहीछाप गराइ नवराज र उनीसँग गएका युवालाई छोडेको थियो । प्रहरी चौकीमा गराइएको मिलापत्रमा नवराजले किशोरीको साथ छोड्ने र भेट नगर्ने भनि सहीछाप गरेका छन् । प्रहरी चौकीमा भएको सही छापपछि नवराज र किशोरीबीच फोन तथा फेसबुक म्यासेन्जर संवाद हुन छाेड्यो । संवाद बन्द भएको २ महिनामा नवराजलाई छट्पटिन थाले । उनले किशोरीलाई जसरी पनि बिहे गर्ने अठोट लिए । किशोरीलाई जसरी भए पनि आफ्नो घरमा ल्याउने अठोट लिएर नवराज युवा जमातसहित फेरि सोती गाउँ पुगेका हुन् ।
शोकाकुल राना गाउँभेरी नगरपालिका वडा नम्बर ४ स्थित रानागाउँ यतिखेर शोकाकुल छ । राना गाउँका युवाहरु नबराज बिक, टिकाराम सुनार र गणेश बुढा मगर मृत अबस्थामा भेटिएपछि पुरै गाउँ शोकमग्न भएको हो । । गाउँका ३ जना युवा अझै बेपत्ता छन । स्थानीय प्रशासन, प्रहरी र बासिन्दाले उनीहरुको खोजीमा तीब्रता दिएका छन् । घटनाबाट ज्यान जोगाएर आएका युवाले सोती गाउँका बासिन्दाले आफूहरू सबैलाई मार्ने प्रयत्न गरेको बताएका छन् । भेरी नगरपालिकाकाले पनि घटनालाई गम्भीर रुपमा लिएको छ । ‘देश लकडाउनमा रहेको अवस्थामा अन्र्तरजातीय विवाहलाई लिएर अत्यन्त दर्दनाक घटना भएको मेयर चन्द्रप्रकाश घर्तिले बताउनुभयो ।
कसरी गर्दैछ प्रहरीले अनुसन्धान ?जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालयले पश्चिम रुकुमले अनुसन्धान शुरु गरेको छ । पश्चिम रुकुम र जाजरकोटले विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरको हो । प्रहरीले किशोरी र चौरजाहरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेका उनका परिवारलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । जिल्लामा संघीय अनुसन्धान ब्युरोले पनि आफ्नै तरिकाबाट अनुसन्धान थालेको जाजरकोटका डिएसपी किशोरकुमार श्रेष्ठले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले अहिले १३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यता मृतकका आफन्तले किटानी जाहेरी नबुझेसम्म शव नबुझ्ने अडान राखेका छन । हत्यारालाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
घटना भएसंँगै दलित अगुवा स्थलगत अनुगमन गर्दैघटना भएको केही दिनमा नै जाजरकोट, पश्चिम रुकुममा दलित अधिकारकर्मीहरु स्थलगत अनुगमनका लागि पुगेका छन । उनीहरुले मृतक, बेपत्ता पारिएका परिवार र अहिले अनुसन्धान गरेको मातहतको प्रहरी कार्यालय चौरजहारी, र घटना स्थलको अनुगमन समेत गरेको छ ।
को को पक्राउ परेका छन ?इलाका प्रहरी कार्यालय चौरजहारी पश्चिम रुकुमले घटनामा संलग्न भएको आरोपमा चौरहारी नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष सहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ८ अध्यक्ष डम्बरबहादुर मल्ल, किशोरी शुष्मा मल्ल, तुलबहादुर मल्ल, प्रेम बहादुर ठकुरी, हरिबहादुर मल्ल (किशोरीको बाबु, प्रकाश मल्ल आमा आमा, सन्तोश मल्ल , मोहन पुन मगर, रमेश मल्ल, मानबहादुर. मल्ल, र टोपबहादुर मल्ल लगायतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिनुभयो ।