काठमाडाैं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो । गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । योसँगै मृत्यु संख्या ६ पुगेको हो ।
मृतक अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका बासिन्दा हुन् । उनीसँगै सम्पर्कमा आएका अन्य व्यक्तिहरुको नमुना संकलन भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो ।
शुक्रबार एकैदिन नेपालमा १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ र पाटन अस्पतालमा एक जना गरी कुल १७० जना संक्रमित थपिएका हुन् । उनीहरु मध्य १ सय ६५ जना पुरुष र ५ जना महिला छन् । शुक्रबारसम्म २ सय ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ ।
शुक्रबारसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् भने विभिन्न अस्पतालमा १ हजार जना आइसोलेसनमा उपचाररत रहेका छन् ।