सन्तकुमार चौधरी चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका एक किसानले तरकारी बेचेरै छोराहरुलाई इन्जिनियर बनाउन सफल भएको बताएका छन् । नगरपालिकाको वडानम्बर ५ भण्डारामा स्थायी बसोबास गर्ने कृषक पुरन चौधरीले तरकारी खेतीको माध्यामबाट ३ छोरासहित ५ जनाको परिवारको दैनिकी सञ्चालनदेखि छोराहरुलाई उच्च शिक्षा दिलाउन सकिएको बताएका हुन् ।
२०४० सालदेखि खेतपातीमा सक्रिय रहँदै आएका चौधरी पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा सक्रिय बनेका हुन् । भण्डारामै उनले २ बिगाह जमिनमा तिराई, भेडें खुर्सानी र गोलभेँडा मनग्ये उत्पादन गर्दै आएका छन् । तरकारी उत्पादनमा सामेल बनेदेखि कहिल्यै पछाडी फर्किनु नपरेको नपरेको बताउँछन, चौधरी । भन्छन्, ‘तरकारी खेतीमा लाग्नुअघि सिलाई कटाई गर्थें । सिलाई कटाई सम्बन्धि मलाई राम्रो ज्ञान पनि छ । तर सिलाई कटाईमा धेरैजसो उधारो जान थालेपछि पेशा नै परिवर्तन गरेँ र तरकारी खेतीमा हात हालेँ ।’
सुरुवातमा साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार रुपैयाँ ऋण लिएर शुरु गरेको व्यवसायिक खेतीमा होमिएका चौधरीलाई हाल तरकारी खेतीमा भ्याई नभ्याई छ । पछिल्लो समय लकडाउन लम्बिँदै जाँदा खेतबारीमै तरकारी कुहिन थाले पनि चौधरीले खेतीपातीबाट आशा मारेका छैनन् । झन नयाँ, नयाँ जातका तरकारी लगाउनमा उनको रुचि बढिरहेको छ ।
‘अघिल्लो वर्ष नेपालमै पहिलो पटक तिराई खेती गरेर परीक्षण गरेँ । यो पटक व्यवसायिक रुपमै तिराई खेती शुरु गरेको छु’ भन्छन्, ‘७ कट्ठा क्षेत्रफलमा लगाएको तिराई अहिले छपक्कै फलेको छ । काठमाडौं, पोखरा, नारायणगढ र बुटवलका बजारसम्म तिराईको माग बढिरहेको छ ।’ काठमाडौंमा पनि चौधरीको बारीमा उत्पादन हुने तिराई बिक्री हुँदै आएको छ । नेपालमा पनि तिराइ खेतीको राम्रो सम्भावना भएकाले अरुले पनि शुरु गर्दा हुन्छ, चौधरीको भनाइ छ । आगामी वर्षमा तिराई खेती थप विस्तार गर्छु, उनले भने ।
कृषक चौधरीले यो पटक उन्नत जातको गोलभेँडा खेती परीक्षणको रुपमा शुरु गरेका छन् । उनले सजिन्डा र सेन्चुरी कम्पनीले वितरण गरेको बिउ ल्याएर परीक्षणको रुपमा गोलभेँडा खेती अघि बढाएका हुन् । उन्नत जातको गोलभेँडा वर्षाको मौसममा टनेल बिना खुल्ला क्षेत्रमा पनि उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘यो पटक सोचे भन्दा राम्रो भयो, आगामीे वर्ष व्यवसायिक रुपमै यो खेती लगाउँछु’ उनले थपे । एउटा गोलभेँडाको बोटमा ५० केजीदेखि १ क्विन्टलसम्म फल्ने गरेकाले यो जातको गोलभेँडा लगाउन चौधरी कस्सिएका हुन ।
चौधरीको बारीमा भेडें खुर्सानी पनि लटरम्म फलेको छ । प्रति कट्ठा २ हजार भाडा तिर्ने सम्झौतासहित २ बिगाह क्षेत्रफल जग्गामा उनले तरकारी खेती गर्दै आएका छन् । लामो समयदेखि खेतीपातीमै व्यस्त रहँदै आएकाले तरकारी खेतीमा राम्रो अनुभव भएका चौधरी बालीमा लाग्ने रोगदेखि तरकारी गोडमेल र छाँटकाँट गर्नेबारे पनि उत्तिकै जानकार छन् । व्यवसायिक तरकारी खेती गर्न थालेपछि आफूहरुले दुखका दिनहरु बिर्सिंदै गएको तरकारीको रेखदेमै दिन बिताउने कृषक चौधरीकी श्रीमती कामिनी चौधरीले सुनाइन ।
यसरी तरकारी बिक्री वितरण गरेरै तीनजना सन्तानलाई हुर्काएर राम्रो शिक्षा दिन सक्नु चानचुने कुरा होइन । चौधरी परिवारका ३ छोरामध्ये जेठो छोरा विजय कम्प्युटर शिक्षक छन् । विजय कठार माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका छन् । माइला छोरा काठमाडौंमा बिपिएच तेश्रो वर्षमा अध्ययरत्त छन् भने कान्छो छोरा मेकानिकल इन्जिनियर हुन । ‘तरकारी बेचेर नै तीनै छोरालाई पढाएका हौं’ पुरनकी धर्मपत्नी कामिनीले भनिन् ।
उसो त फुर्सदको समयमा पुरनका छोराहरु पनि खेतबारीमै काम गर्छन् । ‘आफूहरुको पृष्ठभूमी नै खेतबारीसँग जोडिएकाले समय मिलेसम्म बारीमै काम गर्छौं’ जेठा छोरा विजयले भने । भन्छन्, ‘तरकारी खेतीमा थोरै परिश्रम गर्ने हो भने दुई, चार पैसा कमाउन विदेश जानै पर्दैन, कृषिबाट स्वदेशमै राम्रो प्रगती गर्न सकिन्छ ।’ ‘हाम्रा बुबा आमा धेरै पढेका छैनन, उहाँहरुले त यही माटोमा राम्रो गर्नुभयो भने हामी त झन पढेलेखेका छौं, अझै राम्रो गर्न सक्छौं’ विजयले भने ।
पुरन चौधरी अहिले गाउँघरकै अगुवा कृषक बनेका छन् । पछिल्लोपटक यिनको देखासेखी गर्ने कृषकको संख्या पूर्वी चितवनमा बढीरहेको छ । बालीमा लागेको रोग नियन्त्रणका लागि होस् या बाली लगाउँदा बिरुवा छनौटमा, चौधरीसँगै धेरै किसानले राय सल्लाह लिने गरेका छन् ।
आजभोली लकडाउनका कारण चौधरी परिवारले उत्पादन गरेको तरकारीले बजार पाइरहेको छैन। तर यो अवस्था सधैं नरहनेमा पुरनको परिवार विश्वस्त छ । नेपाली बजारमा स्थानीय उत्पादनले भन्दा भारतीय उत्पादनले बढी प्राथमिकता पाउँदा भने मन दुख्ने गरेको पुरन सुनाउँछन् । कृषकको उत्पादन खेतबारीमै पुगेर सरकारले नै उठाउन सके किसानलाई फाइदा पुग्ने पुरनको बुझाई छ । विचौलियाले कम मूल्य तिरेर लैजाने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने कारणले नेपालको कृषि उत्पादनले प्रगती गर्न नसकेको चौधरीको ठम्याई छ । भन्छन्, ‘विचौलियालाई सिन्डिकेट लगाउने र सरकार आफैले उत्पादन उठाएर बजारसम्म पुर्याउने हो भने कृषक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने थियो ।’