काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा दिनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले ‘आफू मालिक र अरु भिखारी’ प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गर्नुभयो ।
‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट’ उहाँले भन्नुभयो, ‘राज्यविहीनलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई ।’
केन्द्रिकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गर्नुभयो ।
लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उहाँले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गर्नुभयो । शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ?’ उहाँले भन्नुभयो ।
‘राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ । उसको नियत जस्तो छ त्यस्तै नियम बनाउछ, कानुन बनाउँछ, संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ’ उहाँले भन्नुभयो, ‘यही नेपालमा भइरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित को संख्या पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’
कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालीन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रम बजेटमा आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाइरहेको भन्दै आक्रोश पोख्नुभयो ।
‘अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिन दहाडै मरिरहेको छ । यहाँ भाषण भइरहेको छ । कोही मर्न दिदैनौ रे ?’ उहाँले भन्नुभयो । उहाँले एकल जातीय आधारमा गरिएको शासन र नश्लिय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने बताउनुभयो ।