काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि–२०७७ को मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको हो ।
राष्ट्र बैंकले पुनरकर्जा कार्यबिधिको मस्यौदा तयार पार्दै पुनरकर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ भने त्यही अनुसार ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरेको छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा बैंकले ऋणीबाट ५ प्रतिशत व्याज लिन पाउने छन् । विशेष पुनरकर्जामा ३ प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन् ।
उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गिकरण गरिएको छ । बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने भनिएको छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरू पर्नेछन् ।
त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र विशेष पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ । यस कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा कायम गरिएको छ । त्याे सीमाभित्र रही राष्ट्र बैंकले सो सीमाको ७० प्रतिशतसम्म एकमुष्टरुपमा क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई, २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कन गरी क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई र १० प्रतिशतसम्म ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जा प्रदान गर्नेछ । बैंकबाट आव्हान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा १० करोड हुनेछ ।
यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ भने यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन । त्यस्तै बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन