काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । कांग्रेसका केही सांसदहरुले बुधबार संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेसका केही सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सांसद अमरेशकुमार सिंहले यसअघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै प्रस्तावकाे अगाडि बढाइएको बताउनुभयो । उहाँले आफूहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताउनुभयो ।
‘संविधान संशोधन सरकारले दर्ता गरिसकेपछि हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वको सरकारको बेलामा जुन विधेयक संविधान संशोधनको लागि दर्ता भएको थियो त्यो तत्कालिन एमालेको असहयोगको कारण पारित हुन सकेन’ उहाँले भन्नुभयो, ‘त्यही विधेयकलाई हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयले फेरि अगाडि बढाउने निर्णय गरेको हुनाले त्यो निर्णयको कार्यान्वयन स्वरुप हामी प्रतिनिधि सभाका नेपाली कांग्रेसका सदस्यहरु त्यो विधेयकलाई आज दर्ता गराउने प्रक्रियामा छौं ।’
कांग्रेस सांसदहरुले दर्ता गराएको प्रस्तावमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषय राखिएका छन् । प्रस्ताव दर्ताका लागि सांसदहरु प्रदिप गिरि, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुग्नु भएको थियो ।