हुमाकान्त पोखरेलगुल्मी । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरुलाई मनोवैज्ञानिक तालिम दिन शुरु थालिएको छ । क्वारेन्टाइनभित्रै आत्महत्या लगायतका विभिन्न घटना बढ्न थालेपछि त्यसलाई न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको अगुवाइमा उनीहरुलाई तालिम दिन शुुरु गरिएको हो ।
बुधबार रेडक्रस सोसाइटी धुर्कोट उपशाखाको आयोजनामा धुर्कोट गाउँपालिका ४ को जैसिथोक र ५ को बस्तुस्थित क्वारेन्टाइनमा रहेकाहरुलाई मनोवैज्ञानिक तालिम प्रदान गरिएको छ । तालिमका विषयहरुमा सकारात्मक सोचको विकास, क्वारेन्टाइनमा रहँदाको खाली समयको सदुपयोग, सामाजिक दुरी कायम गर्ने तरिका तथा कोरोनाबाट बच्ने उपाय रहेका छन् ।
त्यस्तै कोरोना महामारीका सन्दर्भमा सार्वजनिक हुने भ्रमपूर्ण विषय र सावधान रहने उपाय, मनोवैज्ञानिक असरलाई कम गर्ने उपाय, योगा, यसको महत्व र योगा गर्ने तरिका लगायतका विषयमा पनि सहभागिलाई जानकारी दिइएको तालिम प्रदान गरिएको पाञ्चायन माविमा प्रशिक्षकको भुमिका निर्वाह गरेका ऋणिराम पाण्डेले जानकारी दिनुभयो ।
‘आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना २०७५’ अनुसार समुदायमा आधारित मनोवैज्ञानिक सहयोग सम्बन्धि प्रशिक्षण लिएका रेडक्रस स्वयंसेवकबाट गाउँपालिकाका क्वारेन्टाइनमा रहेकालाई जानकारी दिन लागिएको तालिमका संयोजक एवम् रेडक्रस सोसाइटी जिल्ला उप–सभापति कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।
‘मनोसामाजिक सहयोग प्रशिक्षण’ सम्बन्धि सुरक्षा अपनाएर क्वारेन्टाइनमा रहेका र जोखिम देखिने समुदायका नागरिकलाई कोरोना संक्रमण हुन नदिन तालिम प्रदान गर्न लागिएको संयोजक भण्डारीको भनाइ छ । यसका लागि रेडक्रस सोसाइटीले सबै वडामा तालिम प्राप्त स्वयंसेवकको व्यवस्था पनि गरेको छ ।
रेडक्रसले मुख्य भुमिका रहेका तालिममा धुर्कोट गाउँपालिका वडा नम्बर १ मा विष्णु कडेँल, २ मा हरी बहादुर थापा र केशवराज खनाल, ३ मा चन्द्र गौतम, ४ मा ऋषि पाण्डेय र उमा थापाले सहजिकरण गरिरहेका छन् । त्यसैगरी वडा नम्बर ५ मा विष्णु प्रसाद भण्डारी, देवेन्द्र भण्डारी, सावित्रा भण्डारी र कृष्ण प्रसाद भण्डारी, ६ मा कृष्ण केसी र दुर्गा पन्थी र वडा नम्बर ७ मा भेषराज खनाल र चिन्तामणी पौड्यालले प्रशिक्षणको अगुवाई गरिरहेका छन् ।